इटहरी/दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज : द स्काइ इज माइन’ सिनेमाले ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) फण्ड जितेको छ । फिल्मले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट फण्ड जितेको हो । ‘रानीगञ्ज’ उक्त फन्ड जित्ने नौ फिल्ममध्ये एक सिनेमा हो ।
चर्चित अमेरिकी म्यागेजिन भेराइटीले यस बारेमा समाचार छापेको छ । सिनेमाको छायांकन गत महिना नै सम्पन्न भइसकेको छ । सिनेमामा दयाहाङ राई, निकिता चण्डक, आशा मगराती, पशुपति राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्र, आरती मण्डल र पुष्प यादवले आदिको अभिनय रहेको छ ।
सिनेमाको निर्मातामा मगरातीसहित रामबाबु गुरुङ र एलन आर मिलिगन छन् । यो फिल्म आदि फिल्म्स, बाँसुरी फिल्म्स र नर्वेको तनहाउज गेटको ब्यानरमा बनेको हो । रौनियार निर्देशित पहिलो सिनेमा ‘हाइवे’ बर्लिन तथा लोकार्नो सिनेमा फेस्टिवलमा रिलिज भएको थियो भने उनको दोश्रो निर्देशकीय सिनेमा ‘ह्वाइट सन्’ले भेनिस, पाम स्प्रिङ्स, फाइबर्ग र सिंगापुर फेस्टिभलमा अवार्ड जित्न सफल भएको थियो।
रौनियार, डेभिड बार्कर र आशा मगरातीद्वारा संयूक्त लेखन रहेको , ‘राजागञ्ज: द स्काई इज माइन’ले जातीय प्रथा र छालाको रङलाई लिएर हुने विभेदको कथा रहेको छ । सिनेमाले फण्ड जितेपछि उत्साहित बनेका रामबाबु गुरुङले यो सिनेमा ऐतिहासिक हुने प्रतिक्रिया दिएका छन् ।
‘दीपकसँग मेरो प्रारम्भिक दिनदेखि नै मित्रता छ । उनीसँग काम गर्न पाउँदा म निकै उत्साहित छु । यो फिल्म नेपाली चलचित्र क्षेत्रको लागि एउटा ऐतिहासिक चलचित्र हुनेछ र यसले बाँसुरी चलचित्रको पोर्टफोलियो बढाउनेमा म खुसी छु’, उनले भने ।
Discussion about this post