इटहरी/फिल्म ‘प्रेमगीत’ सिरिजका निर्माता तथा ‘प्रेमगीत ३’का निर्देशक सन्तोष सेनले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सन्तोषले निर्माण तथा निर्देशन गर्न लागेको फिल्मको नाम ‘बलिदान’ राखिएको छ । आशुसेन फिल्मस्को व्यानरमा निर्माण हुने यो फिल्मको छायांकन दशैंपछि सुरु गर्ने उनको योजना छ । यसका लागि सन्तोष र उनको टिमले टिजर समेत खिचिसकेको छ । सुरुवातमा यो फिल्मको नाम ‘भिल्ला’ राखिएको थियो ।
फिल्मलाई एउटा गाउँको काल्पनिक कथामा निर्माण गर्ने योजना स्वरुप सन्तोष र उनको टिमले ‘भिल्ला’ राखेको थियो । तर, फिल्मको कथा लेख्दै जादा सिंगो देशकै बिषयमा बन्ने भएपछि नाम परिवर्तन गरेर ‘बलिदान’ राखिएको हो । सन्तोषले मेरो फिल्मसँग भने–‘हामीले यसपटक पहाड र मधेसको कथालाई उठान गरेका छौं । वि.सं २०६२–०६३ सालमा भएको आन्दोलनदेखि विभिन्न समयमा भएका आन्दोलनको कथालाई फिल्ममा प्रस्तुत गर्नेछौं ।
सेनले अगाडि भने, ‘हजारौं नागरिकले परिवर्तनका लागि बलि दिए । अब विदेशी दलाललाई रोक्नु जरुरी छ ।’ देश तथा विदेशका कुटिलहरुले जसरी बारम्बार जनतालाई बलिदान दिन बाध्य बनाए, अब ती कुटिलहरुलाई तह लगाउनुपर्छ भन्ने कथा प्रस्तुत गर्दछौं ।’ सन्तोषका अनुसार, फिल्मका लागि निर्देशक र कलाकार कोही पनि फाइनल गरिएको छैन ।
यो फिल्मलाई ६ करोडको बजेटमा तयार गर्ने योजना उनको छ । फिल्मको टिजर दशैं अगाडि नै सार्वजनिक गर्ने योजनामा आफूहरु लागिपरेको सन्तोषले जानकारी दिए । गतबर्ष फिल्म ‘प्रेमगीत ३’ निर्देशन गरेर भारतीय बजारमासम्म पुर्याएका सन्तोष फिल्म मेकिङमा सधै नै नयाँपन खोज्न माहिर मानिन्छन् । यसपटक पनि उनले ‘बलिदान’ नाम दिएर देशका लागि एक यूग पुरुषको खोजी गर्दैछन् ।
Discussion about this post