इटहरी / धार्मिक संस्थासँगको विवाद पछी फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । फिल्म हेरिसके पछि विवादित कुनै दृश्य नरहेको सेन्सर बोर्डको पदाधिकारीले बताए । केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ । सेन्सर बोर्डले फिल्ममा समावेश कुनै दृश्य र संवाद नहटाएको निर्माता सुनिलकुमार थापाले बताए ।
‘फिल्ममार्फत तपाईंले तराईदेखि पहाडसम्मलाई जोड्नुभएको छ । संस्कृति जोगाएको र मौलिकता पेश गर्नुभएको छ भनेर बधाई दिनुभयो,’ उनले भने । आफूहरुले धर्ममा आँच आउने कुनै कार्य नगरेको फिल्म सेन्सर पास भएपछि पुष्टि भएको थापाले बताए । तर उक्त सहमतिले गलत नजीर स्थापना गरेको र अभिव्यक्ति तथा कलात्मक स्वतन्त्रतामा आँच आउन सक्ने भन्दै फिल्म वृत्तबाट चौतर्फी विरोध भइरहेको छ ।
यो फिल्मको नाम चौथो पटक परिवर्तन भएको हो । बिभिन्न हिन्दु धार्मिक संस्थाले फिल्मको शीर्षकमा विरोध जनाएपछि फिल्मको सेन्सर प्रक्रिया अघि बढेको थिएन । चलचित्र विकास बोर्डको मध्यस्थतामा ती धार्मिक संस्था र निर्माताबीच आइतबार शीर्षक परिवर्तन गर्ने सहमति भएको थियो । सहमतिसँगै बोर्डले सेन्सर सिफारिस प्रदान गरेको थियो । भदौ २९ गते रिलिज हुने तयारीमा रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको शीर्ष भूमिका छ ।
Discussion about this post