इटहरी/ यही चैत २७ गतेलाई प्रदर्शन मिति तोकेर दर्शकमाझ आउने तयारीमा रहेको नेपाली फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ । यसअघि अभिनेत्री रेखा थापाको फिल्म ‘३६ को आँकडा’ले पनि सोही मितिबाट आफ्नो प्रदर्शन पछि सारेको थियो । लगातार दुई फिल्म पछि हटेसँगै चैत अन्तिम साताको बक्स अफिस भिडन्तको समीकरण फेरिएको छ । अब सो मितिमा विराज भट्ट अभिनित फिल्म ‘राम नाम सत्य’ एकल प्रदर्शनमा आउनेछ ।
निर्माण पक्षका अनुसार प्राविधिक तथा व्यावहारिक कारणहरूले गर्दा डल्लेले इन्ट्री मार्योलाई निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको हो । सो फिल्मलाई दर्शकमाझ पुर्याउन आवश्यक पर्ने पर्याप्त प्रचारप्रसारको समय अभाव भएको, एउटा गीतको छायांकन अझै बाँकी रहेको र फिल्मका मुख्य अभिनेता सागर लम्साल ‘बले’ हाल अर्को फिल्मको छायांकनमा व्यस्त रहेकाले प्रदर्शन मिति सार्नुपरेको निर्माण टिमले स्पष्ट पारेको छ । सम्पूर्ण काम सकेर उपयुक्त समय हेरी चाँडै नै नयाँ रिलिज मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।
राजु गिरीको निर्देशन रहेको फिल्म कार्यविनायक फिल्म्स प्रालि र उषा फिल्म्स प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेता सागर लम्साल र अभिनेत्री रोशनी खड्का मुख्य भूमिकामा छन् । उनीहरूका साथमा रबिन्द्र झा, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, विशाल पहारी, धुर्व कोइराला, लक्ष्मीनाथ तिमल्सिना, ओशिन भट्टराई, आशा पौडेल र रामहरि खड्का लगायतका चर्चित कलाकारहरूको दमदार अभिनय रहेको छ । त्यस्तै, फिल्ममा काजोल गिरी, कंगना गिरी र रोनिश खड्का बाल कलाकारका रूपमा प्रस्तुत भएका छन् ।
यसलाई सावित्रा चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरीले संयुक्त रूपमा निर्माण गरेका हुन् । उमेश कुमार बस्नेतको कथा रहेको यस फिल्ममा लक्ष्मण सुवेदीले पटकथा तथा संवाद लेखेका छन् । श्याम तामाङको छायांकन रहेको फिल्मलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् भने साहिल खानले ट्रेलर तथा टिजर तयार पारेका छन् । फिल्ममा बाबुल गिरी र रिमेश कुमार थापाको सङ्गीत, डम्बर बिकेलको शब्द तथा केशव राज भट्टको कोरियोग्राफी सुन्न र हेर्न सकिनेछ ।














Discussion about this post