इटहरी/ नेपाली फिल्मको बजारलाई काठमाण्डौ र सीमित ठूला सहरको घेराबाट बाहिर निकाल्ने उद्देश्यका साथ ‘फ्रेन्डस् सिनेमा’ले पहाडी जिल्ला इलाममा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । धरान र बुटवलपछि कम्पनीले आफ्नो तेस्रो शाखाको रूपमा इलाममा सुविधासम्पन्न फिल्म हल निर्माण गरेको हो । इलाम नगरपालिका–७ स्थित यस नयाँ फिल्म हल आउँदो शुक्रबारबाट विधिवत् रूपमा दर्शकका लागि खुला हुनेछ ।
चलचित्र विकास बोर्डले हल सञ्चालनका लागि आधिकारिक अनुमति प्रदान गरिसकेको छ । यो हल करिब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो । सिंगल स्क्रीन रहेको यो हलमा १९० सिट क्षमता रहेको छ । आउँदो शुक्रबारबाट सञ्चानलनमा आउने यो फिल्म हलले घरेलु बजार दोब्बर बनाउने लक्ष्य राखेको छ ।
@parikalanewsofficial
फ्रेन्डस् सिनेमाका निर्देशक आशिस एच तामाङले नेपाली फिल्मको वास्तविक बजार विस्तार गर्न गाउँगाउँमा हल पुग्नुपर्ने आवश्यकता औंल्याएका छन् । “हामी फिल्मको बजार विस्तार गर्नुपर्छ भन्छौँ, तर फिल्म हल भने काठमाडौं र ठूला सहरमा मात्रै केन्द्रित गर्छौं,” तामाङले भने, “ठूला सहरमा मात्रै फिल्म हल रहेको अवस्थामा हामीले गाउँगाउँमा पनि फिल्म देखाउने र हेर्ने वातावरण बनाउँदै लैजानुपर्छ भनेर पहाडी जिल्ला इलाममा हल खोलेका हौँ ।”

मोफसलका दर्शक अझै पनि हलको पहुँचबाट टाढा रहेको यथार्थलाई औंल्याउँदै उनले थपे, “हरेक जिल्लामा यस्ता साना तर सुविधायुक्त फिल्म हल खोल्न सके नेपाली फिल्मको घरेलु बजार अहिलेको भन्दा दोब्बरले वृद्धि हुनेछ ।” स्वदेशी बजारलाई नै पहिला बलियो बनाउनुपर्ने धारणा राख्ने तामाङले आगामी दिनमा सम्भव भएसम्म देशका अन्य जिल्लाहरूमा पनि ‘फ्रेन्डस् सिनेमा’का थप शाखाहरू विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिएका छन् ।














Discussion about this post