इटहरी/ नेपालको सबैभन्दा ठूलो धनराशी १ करोड पुरस्कार राखिएको दुई रियालिटी सो ‘मेरो भ्वाईस यूनिर्भस’ र ‘मेरो डान्स यूनिर्भस’को ग्राण्ड फिनालेबाट भ्वाइस तर्फ प्रितम राई बिजेता भएका छन् । उनले बिजेता भएसंगै १ करोड नगद पुरस्कार र अन्य पुरस्कारहरु प्राप्त गरेका छन् । यस्तै फर्स्ट रनरअप शिशिर ठटाल भएका छन् भने उनले ३० लाख नगद प्राप्त गरेका छन् । सेकेन्ड रनरअप सरद हुमागाई हुँदा उनले २० लाख नगद प्राप्त गरेका छन् ।
यस्तै फिनालेबाट थर्ड रनरअप परेश राई र फोर्थ रनरअप साईरान खाती भएका छन् । आज शनिबार ललितपुरमा सम्पन्न भएको ग्रान्ड फिनालेको प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका थिए भने सभापतित्वमा आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारी रहेका थिए ।
ग्राण्ड फिनाले ललितपुरको गोदावारी स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बेलुकी पाँच बजे देखि सुरुभएको थियो । एलन श्रेष्ठको निर्देशनमा निर्मित यि दुवै कार्यक्रमको प्रसारण ३ महिनासम्म ३० एपिसोड भएको थियो जसमा संसारभर छरिएर रहेका नेपाली र नेपालभाषीको सहभागिता रहेको थियो । मेरो भ्वाइस युनिभर्सको निर्णायकमा दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, सुजता बर्मा रहेका थिए । जुन कार्यक्रमलाई रिमा विश्वकर्मा र सन्दीप क्षेत्रीले होस्ट गरेका थिए ।
Discussion about this post