ईटहरी/ नेपाली फिल्म क्षेत्रमा एउटा नयाँ र ऐतिहासिक सुरुवात भएको छ । अब दर्शकले फिल्म हेर्दा दृश्यमा मात्र होइन, साउन्डमा पनि विश्वस्तरीय प्रविधिको अनुभव सँगाल्न पाउने भएका छन् । फिल्म ‘पाँच पाण्डव’ नेपालकै पहिलो यस्तो फिल्म बन्ने पक्का भएको छ, जसको सम्पूर्ण साउन्डको काम नेपालमै रहेको ‘डल्बी एट्मस’ स्टुडियोमा गरिनेछ ।
म्युजिक नेपालले भर्खरै सञ्चालनमा ल्याएको यो अत्याधुनिक स्टुडियोमा काम गर्ने सम्झौतासँगै ‘पाँच पाण्डव’ले प्राविधिक रूपमा आफूलाई अब्बल साबित गर्ने जमर्को गरेको हो । फिल्मका मुख्य खम्बा मानिने वरिष्ठ कलाकार हरिवंश आचार्य र निर्देशक वसन्त निरौलाको उपस्थितिमा यस सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्माले कागजी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रस्तुतकर्ता श्रेष्ठले फिल्मको गुणस्तरबारे बोल्दै भने, “हामी दर्शकलाई केवल कथा मात्र होइन, प्राविधिक रूपमा पनि उत्कृष्ट फिल्म पस्कन चाहन्छौँ । साउन्डको यो नयाँ टेस्टले दर्शकलाई पक्कै पनि फरक अनुभव दिनेछ । हामीले फिल्म निर्माणको कुनै पनि पक्षमा सम्झौता गरेका छैनौँ ।”
@parikalanewsofficial
फिल्मको नाम ‘पाँच पाण्डव’ सुन्दा महाभारतको झल्को आए पनि यो पूर्णतः सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले स्पष्ट पारेको छ । चर्चित फिल्म ‘प्रसाद’का लेखक सुशील पौडेलले यसको कथा, पटकथा र संवाद लेखेका हुन्, जसले गर्दा कथावस्तुमा दर्शकको अपेक्षा उच्च रहेको छ ।
काली रानी फिल्मस्को ब्यानरमा काली रानी श्रेष्ठले निर्माण गर्ने यो फिल्ममा कलाकारहरूको जमघट पनि राम्रै देखिन्छ । फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य, दीपाश्री निरौला, जितु नेपाल, सागर लम्साल (बले) र रजनी गुरुङ रहेका छन् । वसन्त निरौलाले निर्देशन गर्ने फिल्मका व्यवस्थापक दिलीप पन्त हुन । शुभमुहूर्त सम्पन्न भइसकेको यस फिल्मको छायाङ्कन अबको केही महिनाभित्रै सुरु हुने बताइएको छ ।














Discussion about this post