इटहरी/ नेपाली फिल्म उद्योगमा एकपटक फेरि दयाहाङ राई र विजय बरालको जोडीले फिल्म हलमा हलचल मच्चाउने तयारी गरेको छ । हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’सम्मका सफल सहयात्रा पछि अब यी दुई लोकप्रिय कलाकार ‘वरिष्ठ बलराम’ मार्फत एकै पर्दामा फर्किँदै छन् । सुरेन्द्र पौडेल निर्देशित यो फिल्मले अहिलेका प्रचार सामग्रीमै दर्शकको उत्सुकता बढाइरहेको छ ।
पोस्टर, मोसन पोस्टरदेखि टिजरसम्म दुवै कलाकारलाई समान महत्त्व दिइएको छ, जसले यो फिल्ममा मुख्य पात्र को हो भन्नेबारे कौतुहलता थपेको छ । टिजरमा दयाहाङ र विजयबीचको रोचक नोकझोकले कथाको केन्द्रीयता उनीहरूकै सम्बन्ध वरिपरि घुम्ने संकेत दिएको छ । ‘न्याउली बनैमा’ बोलको गीत सार्वजनिक भएपछि दर्शकबीच अझ ठूलो चर्चा चलेको छ, किनभने सो गीतमा विजय बराल र समृद्धि अर्यालको जोडी देखिए पनि दयाहाङ अनुपस्थित छन् ।

यसले फिल्मको मुख्य भूमिकाको रहस्यलाई अझ घनिभूत बनाएको छ । एकातिर दयाहाङको स्थापित स्टारडम, अर्कातिर पछिल्लो समय ‘पूर्ण बहादुरको सारङ्गी’बाट उदाएका विजयको बढ्दो लोकप्रियता, यी दुईबीचको स्क्रिन केमिस्ट्री दर्शकका लागि मुख्य आकर्षण बन्ने निश्चित छ । ‘वरिष्ठ बलराम’को कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका छन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको संयुक्त प्रस्तुतिमा बनेको यो फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय रहेको छ ।
@parikalanewsofficial
मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशनमा तयार भएको ‘वरिष्ठ बलराम’लाई काठमाडौं उपत्यकामा डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्नेछन् । भाइटीकाको दिन अर्थात् कात्तिक ६ गते रिलिज हुन लागेको ‘वरिष्ठ बलराम’ मा दयाहाङ र विजयबीचको संघर्ष, हास्य र भावनाको संगम कस्तो देखिन्छ भन्ने प्रतिक्षामा दर्शकहरू छन् र यो जोडीले फेरि एकपटक नेपाली फिल्ममा नयाँ लहर ल्याउने अपेक्षा गरिएको छ ।















Discussion about this post