इटहरी/ विवाहित महिलाहरुको सशक्तिकरणका लागि आयोजना गरिएको ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणकी फाइनल प्रतिस्पर्धी उर्मिला मगरले महिलाको सौन्दर्य र आत्मविश्वासबारे गहिरो विचार सार्वजनिक गरेकी छन् । उनले भनिन्, “आमा हुनु नै विवाह पश्चातको वास्तविक सौन्दर्य हो । मन र विचार राम्रो भए मान्छे यतिकै सुन्दर देखिन्छ।”
मगरका अनुसार, धेरैजसो महिलाले विवाहपछि आफ्ना सपना र क्षमता बिर्सने गर्छन्, तर परिवारको जिम्मेवारी पूरा गर्दै पनि आफ्ना लक्ष्य पूरा गर्न सकिने विश्वास उनले व्यक्त गरिन् । उनले थपिन्, “यदि तपाईंमा क्षमता र सपना छन् भने, घर-परिवार सन्तुलन गर्दै पनि अघि बढ्न सकिन्छ ।”
उनी केही साताअघि सम्पन्न ट्यालेन्ट राउन्डमा हालैको जेनजी आन्दोलनका क्रममा राज्यको गोलीबाट निधन भएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कविता वाचन गरेकी थिइन् । उनका अनुसार, सौन्दर्य प्रतियोगिताको वास्तविक उद्देश्य बाह्य रूप होइन, सोच र योगदान हो । प्रतियोगिताका आयोजक ओपन स्पेस प्रालिका सञ्चालक सरोज श्रेष्ठका अनुसार, देशमा उत्पन्न केही समस्याका कारण प्रतियोगिता सम्पन्न गर्न चुनौती सामना गर्नुपरेको भए पनि अब सबै तयारी पूरा भइसकेको र फाइनलको मात्र काम बाँकी रहेको छ ।

यस संस्करणमा ११ जना फाइनल प्रतिस्पर्धी रहेका छन्, रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेलीकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, मेघा खड्का, अनुशा कुँवर र उर्मिला मगर ।
यी प्रतिस्पर्धीहरूले डिजिटल र फिजिकल अडिसन पार गर्दै फाइनलसम्म यात्रा पूरा गरेका हुन् । फाइनलअघि उनीहरूलाई र्याम्प वाक, संवादकला र महिला सशक्तिकरणसम्बन्धी ज्ञानमा प्रशिक्षण दिइँदै आएको आयोजकले जनाएको छ । प्रतियोगिताको कोरियोग्राफी शुभेक्षा कार्कीले गरिरहेकी छन् ।
@parikalanewsofficial
विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आइकन’को पहिलो संस्करण गत वर्ष सफलतापूर्वक सम्पन्न भएको थियो । यसमा उचाइ वा शरीरको बनोटको कुनै सीमा तोकिएको छैन । विजेताले १ लाख रुपैयाँ बराबरको पुरस्कारसहित आकर्षक उपहारहरू प्राप्त गर्नेछिन् । प्रतियोगिताको ग्राण्ड फिनाले यही असोज २५ गते शनिबार साँझ इटहरीमा हुने आयोजकले जानकारी दिएको छ ।















Discussion about this post