इटहरी/ नेपाली फिल्म जगतमा ‘प्रतीक्षाको बाँध फुटाउँदै’ बहुप्रतिक्षित फिल्म ‘बलिदान’ले बक्स अफिसमा एक शक्तिशाली सुरुआतको सङ्केत दिएको छ । यही असोज १३ गते (फूलपाती) को शुभ साइतमा रिलिज हुन लागेको यो फिल्मको अग्रिम टिकट बिक्री सुरु हुने बित्तिकै हलहरूमा दर्शकको उच्च चासो देखिएको छ ।
यही बुधवारदेखि प्रमुख शहरका हलहरूमा टिकट बिक्री खुल्न थालेको छ भने हालसम्म देशका लगभग सबै हलहरूमा बिक्री सुरु भएको वितरकहरूले जनाएका छन् । मुख्य मल्टिप्लेक्सको पहिलो रोजाइमा ‘बलिदान’ फिल्मको माग कति उच्च छ भन्ने कुरा शो सङ्ख्याले प्रमाणित गर्छ ।
बुधवार नै नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले ‘बलिदान’लाई झन्डै १०० शो उपलब्ध गराएको छ, जुन संख्या अझै बढ्ने अनुमान गरिएको छ । त्यसैगरी, दोस्रो ठूलो मल्टिप्लेक्स आइएनआइ सिनेमाजले पनि उल्लेख्य शो प्रदान गरिसकेको छ । देशभरका अन्य फिल्म हलहरूमा पनि ‘बलिदान’ले उच्च सङ्ख्यामा शो प्राप्त गरेको वितरकको भनाइ छ ।
अग्रिम टिकट खुल्ने बित्तिकै दर्शकहरूले उत्साहजनक रूपमा टिकट खरिद गरिरहेकोले वितरकहरू यस फिल्मले बक्स अफिसमा नयाँ कीर्तिमान कायम गर्नेमा ढुक्क देखिएका छन् । आशुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको यस फिल्मले दर्शकमाझ पहिले नै ठूलो उत्सुकता जगाइसकेको छ । सार्वजनिक गरिएका पोस्टर, टिजर, गीत र ट्रेलरहरूले दर्शकको मन जितिसकेका छन् ।
@parikalanewsofficial
निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार, ‘बलिदान’ केवल मनोरञ्जनको साधन मात्र नभएर ‘देशप्रतिको कर्तव्य बोध र आमाप्रतिको अगाध प्रेम-ममता’ को प्रतीक हो । उनका शब्दमा, “चलचित्रले दर्शकलाई जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा दिनेछ ।” समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको यो फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेका हुन् । यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।















Discussion about this post