
इटहरी/ केही वर्षअघि लोकप्रिय बनेका बालगायक अशोक दर्जीको जीवनकथा पर्दामा उतार्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यो फिल्मको यसअघि नै कार्तिक २१ गतेलाई प्रदर्शन मिति तय गरिएको थियो । टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको यस फिल्मको पोस्टरमा दर्जीलाई विद्यालयको पोशाकमा प्रस्तुत गरिएको छ ।
यस्तै पोष्टरमा ‘जिरोदेखि हिरोसम्मको कथा’ भन्ने ट्यागलाइन लेखिएको छ, जसले गर्दा दर्जीको बाल्य कालको गायन कलाले पाएको लोकप्रियता, संघर्ष र चुनौतीलाई समेटेर उनको जीवनको यथार्थपरक फिल्मको रुपमा ‘मन बिनाको धन’लाई हेर्न सकिन्छ । फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रविन्द्र झा, पार्वती अधिकारीलगायत धेरै चर्चित कलाकारको अभिनय रहेको छ ।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत औपचारिक रुपमा सांगीतिक चर्चामा आएका थिए । यही गीतमार्फत जीवन बदलेका दर्जी हाल कक्षा ९ मा अध्ययनरत छन् । सामाजिक विषयवस्तुमा आधारित यस फिल्मको कथा टंक बुढाथोकीले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन् ।

बिष्णु माया मैनाली निर्माता तथा सपना शर्मा कार्यकारी निर्माता रहेका छन् । जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे यो फिल्मको सहनिर्माता हुन् । फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन तथा नवराज शर्माको सहायक निर्देशन रहेको छ । फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन् ।
@parikalanewsofficial















Discussion about this post