इटहरी/ गुरुङ समुदायको परम्परागत सोरठी नाचसहित फिल्म ‘रिमै’को प्रिमियर बुधबार काठमाडौँको रञ्जना सिनेप्लेक्समा सम्पन्न भएको छ । यही भदौ २० गते अर्थात भोलि शुक्रबारबाट औपचारिक रूपमा देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मको प्रिमियरमा कलाकार, सिनेमाकर्मी र रंग पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । हाल यो फिल्मको देशभर अग्रिम टिकट बुकिङ समेत खुल्ला भइसकेको छ ।
प्रिमियरमा फिल्मका प्रमुख कलाकार दयाहाङ राई र रिश्मा गुरुङ, गुरुङ भेषभूषामा प्रस्तुत हुँदा कार्यक्रम झनै आकर्षक बनेको थियो । निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायतका चर्चित अनुहारहरूले पनि ‘रिमै’ फिल्म हेरे । फिल्मबारे बोल्दै अभिनेता–निर्देशक विल्सन विक्रम राईले यसलाई गुरुङ समुदायमाथि बनेको उत्कृष्ट फिल्म भनेर तारिफ गरे । त्यस्तै, अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि फिल्मले सम्पूर्ण दर्शकलाई जोड्ने विश्वास व्यक्त गरे ।
फिल्मकी मुख्य अभिनेत्री रिश्मा गुरुङले आठ वर्षपछि पर्दामा फर्किएको अनुभव साझा गर्दै “काजी र मैंयाको जोडी दर्शकलाई रोचक लाग्छ” भन्ने विश्वास व्यक्त गरिन् । निर्देशक खिलबहादुर गुरुङले तीन वर्षको मेहनतपछि तयार भएको फिल्ममा पाएको सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको बताए ।
@parikalanewsofficial
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्राली को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्ट को सहकार्यमा बनेको यस फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ लगायतको अभिनय छ । साथै, असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर बाल कलाकारका रूपमा देखिएका छन् ।उपेन्द्र सुब्बाको पटकथा, शैलेन्द्र ध्वज कार्कीको छायांकन र दीपक शर्मा तथा थानेश्वर गौतमको संगीत रहेको यस फिल्मलाई निर्देशक खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् ।














Discussion about this post