इटहरी/ नेपाली समाजका संस्कार, संस्कृति र अध्यात्मलाई केन्द्रमा राख्दै नयाँ फिल्म ‘महादशा’ निर्माण हुने भएको छ । बुधबार काठमाण्डौंको जमलस्थित विश्वज्योती मलको राजा लाउन्जमा आयोजित विशेष समारोहमार्फत फिल्मको नाम घोषणा गर्दै प्रि–टिजर सार्वजनिक गरिएको हो ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस फिल्मको प्रि–टिजर बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । निर्देशक किरण नेपालीका लागि यो डेब्यु निर्देशन हो । यसअघि उनी दर्जनौँ सफल फिल्ममा निर्माता भइसके पनि निर्देशनको जिम्मेवारी भने पहिलो पटक सम्हाल्दै छन् ।

प्रि–टिजरमा अभिनेता प्रमोद अग्रहरी, अभिनेत्री प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ । निर्माण पक्षका अनुसार अन्य कलाकारहरूको परिचय छायांकनको क्रममा मात्र सार्वजनिक गरिनेछ । फिल्मको कथा मनिष गौतमले लेखेका हुन् भने लगानी राजे के. शाह, श्याम मगर र अमला देवी राईले गरेका छन् ।
@parikalanewsofficial
यो फिल्ममा सुरज आचार्य कार्यकारी निर्माता रहेका छन् भने अनिश अधिकारी र समर चौलागाई प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन् । ‘महादशा’ले ग्रह–नक्षत्र, कर्म र रहस्यमय घटनाक्रमले मानिसको जीवनमा पार्ने प्रभावलाई पर्दामा उतार्ने निर्माण टिमले जनाएको छ । फिल्मको प्रदर्शन मिति भने छायांकन पूरा भएपछि मात्र सार्वजनिक गरिने बताइएको छ ।














Discussion about this post