इटहरी/ नेपाली फिल्मप्रेमीको उत्साहलाई उच्चतम बिन्दुसम्म पुर्याउँदै फिल्म ‘बलिदान’को टिजरले युट्युबमा धमाकेदार सफलता हासिल गरेको छ । सार्वजनिक भएको २४ घण्टाभित्रै १ मिलियनभन्दा बढी भ्युज पाउँदै, यसले नेपाली फिल्म इतिहासमै छोटो समयमा यति ठूलो डिजिटल प्रतिक्रिया कमाउने दुर्लभ उदाहरण प्रस्तुत गरेको छ । यो समाचार तयार गर्दै गर्दा टिजरले १४ लाख भन्दा बढी भ्युज पाईसकेको छ ।
सामान्यतया गीत वा ट्रेलरको तुलनामा टिजर कम ध्यान खिच्ने मानिन्छ, तर ‘बलिदान’ले त्यो परम्परा तोड्दै चर्चाको केन्द्र बन्न सफल भएको छ । यस उपलब्धिमा अभिनेता समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक दृष्टिकोण प्रमुख कारणको रूपमा देखिएको छ । टिजरमा प्रस्तुत गरिएको देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादले दर्शकलाई जोडदार प्रभाव पारेको छ । हेर्नुस् टिजर ।
विशेषगरी समीर भट्टलाई ‘एक्सन किङ’को रूपमा प्रस्तुत गरिएको दृश्य र उनको दमदार संवाद “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ । यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” । तर, समिरलाई एक्सन किङ भनेर टिजरमा प्रस्तुत गरेपछि यता सामाजिक सञ्जालमा भने चर्चा र बहस सुरु भएको छ ।
केहीले आफ्नै बाउको उपाधि खोस्यो भनेका छन् भने कतिले निखिल उप्रेती बाहेक एक्सन किङ कोही हुन सक्दैनन् भनिरहेका छन । यता केहीले भने समिरको एक्सन उत्कृष्ठ भएपनि उनलाई एक्सन किङ को दर्जा दिनु हतार भएको भनिरहेका छन् ।
@parikalanewsofficial
टिजरमा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी लगायतका कलाकारहरूको अभिनयले समेत बल थपेको छ । यसअघि नै समीर भट्टको जन्मदिनमा सार्वजनिक प्रि-टिजर नेपाल मात्र नभई विदेशका युट्युब ट्रेन्डिङमा समेत परेको थियो ।
अहिले सार्वजनिक टिजरले त्यो उत्सुकतालाई अझै उचाइमा पुर्याउँदै ‘बलिदान’लाई वर्षकै सबैभन्दा प्रतीक्षित फिल्म बनाइरहेको छ । आसुसेन फिल्म्स प्रा. लि.को ब्यानरमा बनेको यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । दर्शकले उच्च अपेक्षा राखेको ‘बलिदान’लाई बडादसैँको फूलपातीको दिनदेखि प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ ।














Discussion about this post