इटहरी/ नेपालको सिमाना सुरक्षा, भ्रष्टाचारको जालो र सर्वसाधारण जनताको पीडा उजागर गर्ने उद्देश्यसहित निर्माण भएको नेपाली फिल्म ‘परिवर्तन’ को छायाङ्कन सकिएको छ । ५६ दिनसम्म कोशी प्रदेशका विभिन्न स्थानहरूमा खिचिएको यस फिल्मका दुई गीतहरू बाहेक सम्पूर्ण दृश्यहरूको छायाङ्कन सोमबार सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ । निर्माता दीपक सिवाकोटीका अनुसार अब एक राष्ट्रिय गीत र एक लोकगीत मात्र खिच्न बाँकी रहेको छ ।
छायाङ्कन सकिएसँगै फिल्मको पोस्ट–प्रोडक्सन कार्य अघि बढाइने पनि उनले बताए । फिल्मलाई यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षको छ । विजय केरुङको निर्देशनमा तयार हुँदै गरेको ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा छन् । सुशीलको एक्सन अवतार सार्वजनिक भइसकेको छ र ‘एक्सन हिरो’को पहिचान बनाइसकेका उनको भूमिकाले दर्शकमाझ थप उत्साह बढाएको छ ।
सुशील र अञ्जनासँगै फिल्ममा गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी र यमनाथ खरेल लगायतको अभिनय रहनेछ । झापा र विराटनगरलगायत बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर, अर्जुनधारा, कन्काईमाई, बिर्तामोड र मेचीनगर नगरपालिका क्षेत्रमा छायाङ्कन गरिएको यो फिल्म ‘दिब्यासी फिल्म्स प्रा.लि.’ को ब्यानरमा निर्माण भएको हो ।
@parikalanewsofficial
दीपक सिवाकोटी स्वयंले लेखेको कथा र शिवम अधिकारीको पटकथा तथा संवादमा आधारित फिल्मको छायाङ्कन निर्देशक शिव ढकाल, सम्पादन बन्दे प्रसाद, द्वन्द्व निर्देशन श्री श्रेष्ठ, प्रोडक्सन हेड अरुण रेग्मी, प्रोडक्सन सहायक साजन बस्ताकोटी, मुख्य सहायक निर्देशक नवराज शर्मा तथा सहायक निर्देशक विश्वजंग शाही र निशान सुब्बा रहेका छन् ।
पोस्टर तथा प्रचार सामग्री रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट को डिजाइनमा तयार गरिएको हो । झन्डै पाँच दशकअघि वि.सं. २०२८ मा निर्देशक हिरा सिंह खत्रीले बनाएको ‘परिवर्तन’ नामक फिल्मपछि, नयाँ कथासहित पुनः सोही नाममा फिल्म आउन लागेको हो । यसरी, पुरानो नाम र नयाँ सन्देशसहितको फिल्मले नेपाली समाजको यथार्थलाई पर्दामा उतार्ने तयारी गरेको छ ।















Discussion about this post