इटहरी/ फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बरालको प्रमुख भूमिकामा पुनरागमन रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजरले रिलिजपूर्वै दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । यही भदौ ६ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको आधिकारिक टिजर युट्युबको ट्रेन्डिङ सूचीमा उक्लँदै चौथो स्थानमा पुगेको छ । गत मंगलबार सार्वजनिक गरिएको टिजरले छोटो समयमै १३ लाख ६ हजारभन्दा बढी भ्युज बटुल्न सफल भएको छ ।
यस्तै ६ हजार ५ सयभन्दा बढी लाइक्स प्राप्त गरेको छ । सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गर्न सफल यस टिजरले दर्शकको तीव्र उत्सुकता र सकारात्मक प्रतिक्रिया प्रमाणित गरिदिएको छ । टिजरप्रति युट्युब कमेन्टहरूमा दर्शकहरूले खुलेर प्रशंसा व्यक्त गरिरहेका छन् । विशेषतः विजय बरालको दमदार अभिनय, कथाको मौलिकता र सामाजिक सन्देशप्रति दर्शकहरू प्रभावित देखिएका छन् । हेर्नुस् टिजर ।
टिजरले कोरियामा रोजगारीको सपना बोकेर सहर पसेको एक गाउँले युवाको सपना, संघर्ष र सम्बन्धहरूमा आउने उतारचढावलाई मार्मिक ढङ्गले प्रस्तुत गर्छ । निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्ममा विजय बरालसँगै अभिनेत्री केकी अधिकारी र मिरुना मगर प्रमुख भूमिकामा देखिएका छन् । टिजरमा त्रिकोणात्मक प्रेम, पारिवारिक द्वन्द्व, आप्रवासनको चुनौती र नेपाली युवाको आत्मसंघर्षलाई गहिरो भावनात्मक पाटोसहित देखाइएको छ ।
फिल्ममा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
@parikalanewsofficial
कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले तयार पारेका हुन् भने फिल्म पेपरक्लिप ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेद्वारा निर्माण गरिएको हो । नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन कार्यकारी निर्माता रहेका फिल्मको वितरण अधिकार काफिया फिल्मसले लिएको छ । टिजरको सम्पादन शाहिल खानले गरेका हुन् भने सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन र लक्ष्मणराज पौडेलको निर्माण नियन्त्रण रहेको छ ।















Discussion about this post