इटहरी/ नेपाली फिल्मको पहिलो अध्यायले अब कागजको पर्दाबाट हुलाकको टिकटमा उडान भरेको छ।वि.सं. २०२१ मा प्रदर्शनमा आएको ऐतिहासिक फिल्म ‘आमा’ को झल्को अब रु. १० को हुलाक टिकटमा अंकित हुँदै विश्वभर फैलिने भएको छ।चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा ‘आमा’ फिल्मलाई समर्पित टिकट सार्वजनिक गरियो। सो अवसरमा फिल्मका कलाकार, सरोकारवालाहरू र सांस्कृतिक अभियन्ताहरूको उपस्थिति उल्लेखनीय रह्यो।
हिरासिंह खत्रीको निर्देशनमा बनेको ‘आमा’ नेपाली फिल्म उद्योगको पहिलो कोसेढुङ्गा हो। यसमा शिवशंकर खत्री र भुवन चन्दले निर्वाह गरेका भूमिकाहरूले नेपाली दर्शकलाई फिल्मको स्वादसँग पहिलोपटक परिचित गराएको थियो। त्यसबेलादेखि सुरु भएको सिनेमाको यात्रा आज पोस्टल टिकटको माध्यमबाट नयाँ मोडमा पुगेको छ।
हुलाक सेवा विभागले दुई थान विशेष टिकट जारी गरेको छ, जसमा फिल्म ‘आमा’का नायक नायिकाको छायाचित्र समावेश गरिएको छ। टिकटको पहिलो दिवसीय आवरण लाई विशेष कलात्मक ढाँचामा तयार पारिएको छ, जसले फिल्मको सांस्कृतिक र ऐतिहासिक महत्व झल्काउँछ।टिकट डिजाइन हुलाक सेवा विभागकी शाखा अधिकृत चन्द्रा थापाले तयार गरेकी हुन्। कार्यक्रमको संयुक्त अनावरणमा अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बोर्ड अध्यक्ष दिनेश डिसी र विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनी सहभागी भए।
महानिर्देशक पंगेनीले ‘आमा’ लाई हुलाक टिकटमा समेटिनु नेपाली सिनेमाको ऐतिहासिक पहिचानलाई विश्वसामु चिनाउने अवसर भएको बताइन्। “म आफैँ पनि संगीतकर्मी हुँ, लेख्छु र गाउँछु,” उनले भनिन्, “त्यसैले फिल्मको सम्मानमा हामी सहभागी हुन पाउनु हाम्रो पनि गर्वको कुरा हो।” फिल्म ‘आमा’ को यो टिकटले केवल एक फिल्मको सम्झना दिलाउँदैन, यसले सम्पूर्ण नेपाली फिल्म इतिहासलाई संझना गराउँछ।
@parikalanewsofficial


















Discussion about this post