इटहरी/ हास्य अभिनयमा बलियो पहिचान बनाइसकेका केदार प्रसाद घिमिरे ‘माग्नेबुढा’ अब हल्का रमाइलो होइन, ‘पूरा रमाइलो’ खुराक लिएर पर्दामा फर्किंदै छन् । ‘माग्ने राजा’ नामक नयाँ फिल्मको टिजर सार्वजनिक भएसँगै, उनले दर्शकलाई हँसाउने मात्र होइन, फरक गेटअप र चरित्रले दर्शकलाई चकित पार्ने तयारी रहेको देखिन्छ ।
सोमबार सार्वजनिक गरिएको टिजरले केदारलाई एकदमै नयाँ गेटअपमा प्रस्तुत गरेको छ, जसमा उनका रमाइला संवाद र शारीरिक हाउभाउले सुरु देखिनै हाँसोको माहोल बनाउँछ । उनीसँगै टेलिभिजनको पर्दामा लोकप्रिय हास्यकलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ पनि देखिएका छन्, उनी यसमा केदारका भान्जाको भूमिकामा देखिएका छन् । हेर्नुस् टिजर।
करिब पौने दुई मिनेटको टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेललाई पनि देखाइएको छ, यद्यपि उनीहरूको चरित्र खुलाइएको छैन । माग्ने पात्रलाई ‘राजा’को रुपमा उभ्याएर टिजरले हास्यभित्र लुकेको कथा र व्यङ्ग्यको संकेत गरेको छ । ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘माग्ने राजा’ लाई आरम्भ प्रोडक्सनको ब्यानरमा मुनाल घिमिरेले प्रस्तुत गरेका हुन् भने मधुसुदन शर्मा निर्माताको भूमिकामा छन् ।
@parikalanewsofficial
केदार घिमिरेको पहिलो मुख्य भूमिका रहेको यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ । टिजरलाई साहिल खानले सम्पादन गरेका हुन् । नेपालसँगै विदेशमा पनि भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको वितरण आरआर फिल्मले गर्नेछ ।
Discussion about this post