इटहरी/ अभिनेता पल शाहको डेब्यु निर्माण र अञ्जना पुनको डेब्यु अभिनयसहितको फिल्म ‘यानी माया’ अब निर्माणको चरणमा प्रवेश गरेको छ । अभिनेता पल शाहले आफ्नो ब्यानर ‘पल शाह फिल्म्स’ मार्फत निर्माण गर्न लागेको यो पहिलो फिल्म हो भने मोडलिङ क्षेत्रमा सफल यात्रा तय गरेकी अञ्जना पुनले यसैमार्फत नेपाली फिल्म उद्योगमा पाइला टेक्ने भएकी छन् ।
‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ को उपाधि जितेकी अञ्जनाले हालै सम्पन्न मिस नेपाल २०२४ मा पनि ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ उपाधिहरू हात पारिन् । मोडलिङका साथै अभिनयमा पनि उनी सक्रिय रहिएकी छन् । ‘बधाई तिमीलाई’, ‘ना छोएर यौवन काटियो’, ‘मायालाई पानको पात’, ‘आगो लाग्यो’, ‘१००% सही हो’ जस्ता म्युजिक भिडियोमार्फत उनले दर्शकको मन जितिसकेकी छन् ।

सो म्युजिक भिडियोहरू मध्ये केही गीतमा उनी पल शाहकै जोडी बनेर अभिनय गरेकी छन् । सामाजिक क्षेत्रमा पनि उनी क्रियाशील छन् र क्यान्सर निवारण प्रतिष्ठानकी ब्रान्ड एम्बेसडरको रूपमा समेत कार्यरत छिन् । यो फिल्मको निर्देशन तथा लेखन विकास सुवेदीले गरेका हुन्, जसका लागि यो फिल्म निर्देशनको पहिलो प्रयास हो । ‘यानी माया’ दार्शनिक मेटामोडर्न फिल्म र पारिवारिक कथावस्तुको समिश्रण हुनेछ ।
@parikalanewsofficial
फिल्ममा अन्तरपुस्तीय द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको द्वन्द्व जस्ता गहिरा विषयवस्तु समेटिने छन् । आउँदो श्रावण महिनाबाट छायाङ्कन सुरू हुने यो फिल्म बागलुङको ढोरपाटन क्षेत्र र हङकङका रमणीय स्थलहरूमा खिचिनेछ । फिल्मको निर्मातामा पल शाहसँगै चन्द्रज्योति आले पनि रहेका छन् । सशक्त मोडल पृष्ठभूमिबाट अभिनयमा प्रवेश गरेकी अञ्जनाको डेब्युसँगै, पल शाहको निर्माण यात्रा कत्तिको सफल हुन्छ भन्ने कौतूहल चुलिएको छ ।












Discussion about this post