इटहरी/ फिल्म ‘प्रेमगीत ३’ मा प्रदीप खड्कापछि दोस्रो प्रमुख पात्रका रूपमा देखिएका अभिनेता मनिष राउत अब निर्देशनको यात्रामा अघि बढेका छन् । आउँदो भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा उनी एसोसिएट डिरेक्टरको रूपमा देखिँदै छन् । अभिनयमा रुचाइएका मनिष यस फिल्ममा भने पर्दामा देखिँदैनन् । अभिनय होइन, निर्देशनको अनुभव बटुल्ने हेतुले उनी पछाडिको भूमिकामा उभिएका हुन् ।
“निर्देशन पनि क्रिएटिभ काम हो । अभिनयसँगै निर्देशनमा पनि अगाडि बढे अभिनयलाई थप गहिरो बनाउन सकिन्छ भन्ने सोचले यसतर्फ मोडिएको हुँ,” मनिषले बताए । मनिष फिल्म पढेका कलाकार हुन् । अध्ययनपछि फिल्ममा होमिएका उनले अभिनय र निर्देशन दुबैलाई सँगै लान सकिने विश्वास व्यक्त गरे । टिम राम्रो भएको र कथा प्रभावशाली भएकाले नयाँ अनुभव बटुल्ने उद्देश्यले निर्देशन डिपार्टमा काम गरेको उनको भनाइ छ । इतिहास रच्न निस्किएका मनिष र इतिहास रचिसकेका विजय बरालको यो सहकार्यले दर्शकमाझ कस्तो प्रभाव छाड्न सक्ला त ? त्यो भने प्रतिक्षाको विषय हो ।

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटा, सुशांक मैनाली, भावना खपांगी मगर, रियर राई, सुमन थापा र रुपेश लामाको प्रमुख भूमिका रहेको छ । पेपरक्लिप ब्यानरअन्तर्गत निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।
@parikalanewsofficial
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने मुख्य सहायक निर्देशकमा दिनेशबहादुर राउत छन् । सहायक निर्देशकमा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी. छन् । नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेमेटोग्राफी र थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको यो फिल्म गोविन्द शाहीको काफिया फिल्म्समार्फत वितरण हुनेछ । अलटाइम ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल पुनः मुख्य भूमिकामा फर्किन लागेको यो फिल्म २०८१ सालको एक बहुप्रतिक्षित प्रोजेक्टका रूपमा हेरिएको छ ।
















Discussion about this post