इटहरी/ नेपाली फिल्मले फेरि एकपटक नयाँ क्षितिज पहिल्याउँदैछ। निर्देशक कृषा चौलागाईंको आउँदै गरेको फिल्म ‘जहाजैमा’ केवल एउटा फिल्म मात्र नभई नेपाल र जापानबीचको सांस्कृतिक सेतु निर्माण गर्ने एउटा उदाहरणीय प्रयासका रूपमा देखा परेको छ।
कृषाले जापानमै पुगेर फिल्म निर्देशनको सम्झौता गरेपछि, हाल उनी प्रि-प्रोडक्सनमा व्यस्त छिन्। यस चलचित्रको दृश्यांकनको जिम्मा नेपाली सिनेमामा आफ्नो छुट्टै पहिचान बनाइसकेका अनुभवी छायाकार पुरुषोत्तम प्रधान ले लिने भएका छन्, जसले ‘जहाजैमा’ लाई दृश्यका माध्यमबाट थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।
फिल्मको मुख्य नायिकाको रूपमा जापानी अभिनेत्री रजेल इचिमिया लाई सार्वजनिक गरिएपछि नेपाली दर्शकमाझ उत्साह र उत्सुकताको नयाँ तरंग छाएको छ। रजेलले जापानमा मोडलिङ र अभिनय दुवै क्षेत्रमा आफूलाई सशक्त रूपमा स्थापित गरिसकेकी छन्। फिल्मको सार्वजनिक पोस्टरमै उनको शालीन उपस्थिति प्रस्ट झल्किएको छ जहाँ उनी सफा हिउँले ढाकिएको वातावरणमा पारदर्शी छातामुनि उभिएकी छिन्। यो दृश्यले केवल सौन्दर्य मात्र होइन, दुई फरक संस्कृतिको अन्तरसम्बन्धलाई पनि सूक्ष्म ढंगले प्रस्तुत गरेको छ। निर्देशक कृषा आफैं भन्छिन्, “विदेशी कलाकारलाई नेपाली कथाभित्र मिसाउनु चुनौतीपूर्ण अवश्य हो, तर त्यही चुनौतीले कथालाई अझ रोचक बनाउँछ।”

फिल्मकी प्रमुख अभिनेत्रीको नाम सार्वजनिक भइसके पनि नायकको परिचय भने अझै रहस्यमय नै राखिएको छ। निर्देशक चौलागाईंका अनुसार, नायक छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ र चाँडै नै उनको नाम पनि सार्वजनिक गरिनेछ। यसले दर्शकको उत्सुकतालाई अझ बढाएको छ।
यूएनए प्रोडक्सन को ब्यानरमा निर्माता उज्ज्वल गुरागाईं ले निर्माण गर्न लागेको ‘जहाजैमा’ ले नेपाल र जापानबीचको मित्रता, सांस्कृतिक घनिष्ठता, प्रेमको अभिव्यक्ति र जीवनका चुनौतीपूर्ण मोडहरूलाई सिनेमाको पर्दामा उतार्नेछ। निर्माता उज्ज्वल भन्छन्, “हामी यो फिल्मलाई दुई देशबीचको भावनात्मक सम्पर्क बिन्दु बनाउने लक्ष्यका साथ अगाडि बढिरहेका छौं। यो फिल्म केवल स्क्रिनमा सीमित हुने छैन यो भावना, सम्झना र सम्बन्धको एउटा यात्रा हुनेछ।”
यो फिल्म सन् २०२६ मा प्रदर्शन गर्ने योजना छ। बहुसांस्कृतिक स्वाद, अन्तरदेशीय कलाकार र गहिरो विषयवस्तुले सजिएको यो फिल्मले नेपाली सिनेमा क्षेत्रमै एउटा छुट्टै र नवीन पहिचान बनाउन सक्ने संकेत देखाएको छ। रजेल इचिमियाको उपस्थितिलाई नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय पहुँच र सांस्कृतिक अन्तरबोध तर्फको एउटा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। ‘जहाजैमा’ ले पर्दामा के जादू देखाउँछ, त्यो त समयले बताउनेछ।
@parikalanewsofficial















Discussion about this post