इटहरी/ थारु समुदायको मौलिकता, संस्कृति र फिल्म क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यसहित सुनसरीको रामधुनी नगरपालिका अवस्थित झुम्कामा ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव २०८२’ आयोजना हुने भएको छ । यो दुई दिने महोत्सव यही असार ६ र ७ गते सम्पन्न हुनेछ । महोत्सवको पहिलो दिनको कार्यक्रम झुम्कास्थित कलश पार्टी प्यालेसमा आयोजना हुनेछ भने दोस्रो दिन म्याजिक सिनेमा हलमा हुनेछ ।
थारु चलचित्र प्रदर्शन र विभिन्न सांस्कृतिक गतिविधिहरू सहित आयोजना हुने महोत्सव बारे जानकारी दिन बुधबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा थारु चलचित्रका पहिलो नायक तथा थारु चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष परशुराम चौधरीले ‘पछिल्लो समय थारु भाषाका फिल्महरूको निर्माणमा वृद्धि भए पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको अवस्थामा यो महोत्सव थारु फिल्म क्षेत्रको प्रवर्द्धनका लागि कोसेढुङ्गा सावित हुने ।’ बताए ।

दुई दिनसम्म चल्ने महोत्सवमा थारु चलचित्रसँग सम्बन्धित अन्तर्क्रिया र समीक्षा, थारु नृत्य प्रतियोगिता, झाँकी प्रदर्शन, विशिष्ट व्यक्तित्वहरूलाई सम्मान, वृत्तचित्र प्रदर्शन लगायतका कार्यक्रम समावेश गरिने छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कलाकार, निर्माता, निर्देशक, वितरक, चलचित्रकर्मी तथा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता महोत्सवमा रहने जनाइएको छ । थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजनामा हुन लागेको उक्त महोत्सवमा मोरङ र सुनसरी कार्य समितिको सहआयोजना तथा नेपाल चलचित्र विकास बोर्डको सहकार्य रहेको छ ।
@parikalanewsofficial



















Discussion about this post