इटहरी/ सहकारी घोटालाको पीडादायी कथामा आधारित फिल्म ‘महाभोज’ पोखरामा आयोजित विशेष प्रिभ्यु शोमार्फत दर्शकहरू माझ प्रस्तुत गरिएको छ। सोमबार सम्पन्न यो भव्य प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थिति थियो।यथार्थमाथि आधारित यो कथाले मात्र होइन, यसको प्रस्तुति र पात्रहरूको सशक्त अभिनयले समेत दर्शकहरूलाई ताली मात्र होइन, प्रश्न उठाउन पनि बाध्य बनायो। प्रिमियरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, सहकारी पीडितहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्व र सञ्चारकर्मीहरू सहभागी थिए।
फिल्म प्रदर्शनपछि भावनात्मक प्रतिक्रिया दिँदै केही दर्शकहरूले ‘महाभोज’ ले दशकौंअघि आएको ‘आगो’ जस्तै सामाजिक आन्दोलन चर्काउन सक्ने चेतावनीसहितको आशा व्यक्त गरे। उनीहरूको भनाइ थियो यदि फिल्मको कुनै दृश्य कुनै दबाबमा काटिने प्रयास गरियो भने त्यसविरुद्ध जनस्तरमै प्रतिकार हुनेछ।यसअघि काठमाडौंमा आयोजित प्रिभ्युमा पनि फिल्मले दर्शकबाट प्रशंसा बटुलिसकेको छ। सहकारी काण्डको गहिरो चित्रण र राजनीतिक सन्देशले फिल्मलाई केवल मनोरञ्जनको चौकाबाट बाहिर ल्याएर चेतनाको चौतारीमा ल्याइदिएको देखिएको छ।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेम को संयुक्त प्रस्तुति रहेको फिल्म ‘महाभोज’ का निर्माता हिमाल कडरिया हुन्। दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, र मोहन निरौलालगायतका कलाकारहरूको अभिनय यसमा देख्न पाइनेछ।फिल्म यही जेठ ३० गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। पोखराको सफल प्रिमियरपछि बुटवल, विराटनगर र धरानमा पनि प्रिमियरको तयारी भइरहेको छ।
@parikalanewsofficial
Discussion about this post