इटहरी/ सौगात मल्ल र गरिमा शर्माको मुख्य भूमिका रहेको सामाजिक कमेडी फिल्म ‘जन्ते बाख्रो’ जेठ २३ गते शुक्रबारदेखि देश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ । प्रिमियर शोमै दर्शक तथा समीक्षकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया बटुल्न सफल यो फिल्मको अग्रीम टिकट बुकिङ खुला भइसकेको छ । बुधबार साँझ सम्पन्न प्रिमियरपछि निर्माण टिमले दर्शकमाझ फिल्मले राम्रो प्रदर्शन गर्ने विश्वास लिएको छ । देशका प्रमुख मल्टीप्लेक्स तथा सिंगल स्क्रिन हलहरूले ‘जन्ते बाख्रो’लाई उत्साहजनक शो दिएको छ ।
क्युएफएक्सले काठमाडौँ उपत्यकामा १७ र मोफसलमा २० गरी कुल ३७ शो तोकेको छ । त्यसैगरी, आईएनआई सिनेमाजले १२ शो, वान सिनेमाजले ७, एफक्युब, बिग मुभिज, र बिएसआर मुभिजले समान रूपमा २–२ शो छुट्याएका छन् । देशभरमा यो फिल्म १५० भन्दा बढी शोसहित प्रदर्शनमा आउन लागेको हो । सिमोस सुनुवारको निर्देशनमा तयार भएको ‘जन्ते बाख्रो’ले नेपाली समाजमा जन्तीलाई खुवाइने परम्परागत भोज-जन्ते बाख्रो-वरिपरिको कथा पेश गर्छ ।
@parikalanewsofficial
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भण्डारीले लेखेका हुन् भने सन्तोष गौतम निर्माताका रूपमा रहेका छन् । फिल्ममा सौगात मल्ल र गरिमा शर्मासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेरको अभिनय रहेको छ । हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन, र रोयल भिमसेनको पोस्टर डिजाइन रहेको छ ।












Discussion about this post