इटहरी/ नेपाली मूलकी ९ वर्षीया बालिका विनिता छेत्रीले विश्व चर्चित रियालिटी शो ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलसम्मको यात्रा तय गर्दै अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपलब्धि हासिल गरेकी छन् । भारतको आसामस्थित कार्बी आङ्लोङबाट आएकी विनिता यस प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने उत्तर–पूर्वी भारतकी पहिलो प्रतिस्पर्धी बनेकी हुन् । अद्वितीय नृत्य र मार्शल आर्टको संयोजनसहितको उनको प्रस्तुतिले अडिसनदेखि नै दर्शक र निर्णायकहरूलाई मन्त्रमुग्ध बनाउँदै आएको छ ।
गोल्डेन बजर नपाए पनि विनिताको कौशल र आत्मविश्वासले उनलाई सेमिफाइनलमा सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धी बनायो । उनको प्रस्तुति देखेपछि निर्णायकहरू साइमन कावेल, अमान्डा होल्डन, अलेशा डिक्सन र ब्रुनो टोनिओली सवैले खुलेर प्रशंसा गरे । ब्रुनोले उनलाई “बाघको शक्ति र अजिंगरको लचकता” भएको भन्दै प्रसंशा गरे भने अलेशाले “यस्ता चालहरू पहिले कहिल्यै नदेखेको” भन्दै प्रतिक्रिया दिइन् ।
@parikalanewsofficial
विनिता आफ्नो बुबासँग बेलायत आएकी थिइन्, जहाँ उनले सानैदेखि बोकेको सपना ब्रिटेन गट ट्यालेन्टको स्टेजमा प्रस्तुति दिनु थियो । जुन यतिबेला साकार पारेकी छन् । उनी भन्छिन्, “मैले धेरै मेहनत गरेकी छु । म आभारी छु र फाइनलमा पनि आफ्नो सबथोक दिनेछु ।” उनले जितेमा ‘गुलाबी राजकुमारीको घर’ किन्ने इच्छा रहेको बताएकी थिइन्, जुन भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
ब्रिटेन गट ट्यालेन्टको फाइनल नतिजा आज बेलायती समय अनुसार साँझ ७ बजे र नेपाली समय अनुसार राति ११:१५ बजे सार्वजनिक हुँदैछ । भोटिङ लाइन खुल्ने छ भने विनिताको पक्षमा व्यापक समर्थन देखिएको छ । फाइनलको नतिजाले जे देखाएपनी विनिताले आफ्नो प्रतिभा, विनम्रता र दृढ इच्छाशक्तिका कारण विश्वमञ्चमा नेपाली समुदायको गर्विलो उपस्थिति जनाईसकेकी छिन् ।















Discussion about this post