इटहरी/ ग्रामीण परिवेशको कथा बोकेको नयाँ नेपाली फिल्म ‘मिरमिरे’मा लोकप्रिय अभिनेता दयाहाङ राई प्रमुख भूमिकामा देखिने भएका छन् । निर्माण युनिटले उनलाई फिल्मको प्रमुख भूमिकामा फाईनल गरिएको जानकारी आज सामाजिक सञ्जालबाट गराएको हो । सामाजिक विषयवस्तुमा केन्द्रित यो फिल्म यम शेर्पाको निर्देशनमा बन्न लागेको दोस्रो प्रोजेक्ट हो । ‘कार्साङ’पछि पुनः निर्देशनमा फर्किएका शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेका थिए ।
निर्देशक शेर्पाले दयाहाङसँगको यो दोस्रो सहकार्य भएको जनाउँदै भने, “कथा पिच गर्दा नै उहाँलाई मन पर्यो र हामी मिल्यौं । अहिलेका रोजाइका अभिनेतामध्येका एक दयाहाङलाई ‘मिरमिरे’मा अनुबन्ध गर्न पाउँदा उत्साहित छौँ ।” उनले फिल्मलाई सामाजिक कथामा आधारित ‘सोसल ड्रामा’ रहेको उल्लेख गरेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने ‘मिरमिरे’का अन्य कलाकारबारे अब एकपछि अर्को गर्दै सार्वजनिक गर्ने निर्देशक शेर्पाले जानकारी गराए । निर्देशकले फिल्मको कलाकार टोली बलियो हुने बताएका छन् ।

यसअघि सार्वजनिक थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र मिरमिरे उज्यालोमा सूर्यतर्फ फर्किएर उभिएको दृश्य समेटिएको थियो, जसले फिल्मको भावनात्मक र सांकेतिक पाटो संकेत गर्छ । फिल्मको कथा तथा निर्देशन यम शेर्पा स्वयंले गर्नेछन् । निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा रहेको यस फिल्मका सह-निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् भने कार्यकारी निर्माता रोहित कट्टेल हुन् । ‘मिरमिरे’ २०८२ सालभित्रै प्रदर्शनमा आउने घोषणा गरिएको छ । यसको वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ ।

@parikalanewsofficial














Discussion about this post