इटहरी/यस वर्षको प्रतिष्ठित कान्स फिल्म फेस्टिभल २०२५ मा नेपाली चलचित्र ‘एक्लो’ ले एक स्मरणीय उपस्थिति जनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काएको छ। प्रदीप शाही निर्देशित यो विज्ञान–थ्रिलर फिल्मले फ्रान्सको कान्समा आयोजित ‘मार्चे दु फिल्म’ (फिल्म बजार) मा आफ्नो विशेष स्टल राखेर विश्वभरका फिल्म निर्माता तथा वितरकहरूसँग प्रत्यक्ष सम्बन्ध स्थापना गरेको छ। स्टलमा सजिएको नेपाली झण्डाले नेपाललाई विश्वसामु विशिष्ट पहिचान दियो।
अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाहीले कान्सको रेड कार्पेटमा गर्वका साथ हिँड्दै नेपाली फिल्म को गरिमा बढाएका छन्। यसका साथै, कान्स फेस्टिभलले नेपालका रमणीय छायांकन स्थलहरू, विशेषगरी अपर मुस्ताङ र काठमाडौं लाई पनि अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले नेपाली फिल्म उद्योगलाई विश्वसामु नयाँ ढङ्गले प्रस्तुत गर्न सहयोग पुर्याएको छ।
‘एक्लो’ को कथावस्तु अनौठो छ। यसले हिमालयका आध्यात्मिक विषयवस्तु लाई विज्ञान थ्रिलरको आधुनिक शैली सँग जोडेर तयार पारिएको छ, जहाँ मानव जाति एउटा विनाशकारी परिस्थितिसँग जुधिरहेको देखाइन्छ। फिल्ममा प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा लगायत नेपाली र बेलायती कलाकारहरूको सशक्त अभिनय रहेको छ, जसले कथालाई अझ जीवन्त बनाएका छन्। फिल्मको छायांकन नेपालमा सम्पन्न भई हाल यसको पोस्ट प्रोडक्सन लण्डनमा भइरहेको छ। निर्देशक शाहीले चाँडै नै फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्ने बताएका छन्।
यस वर्षको कान्स फिल्म फेस्टिभलमा निर्देशक प्रदीप शाही ‘प्रोड्यूसर्स नेटवर्क’ मा समेत छनोट भएका छन्। यो छनोटले उनलाई विश्वव्यापी निर्माता र फिल्म क्रिएटरहरूको एक विशिष्ट समूहमा आबद्ध हुने अवसर प्रदान गरेको छ, जसले भविष्यमा अन्तर्राष्ट्रिय सहकार्यका लागि नयाँ ढोकाहरू खोल्नेछ।‘एक्लो’ ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा एउटा नयाँ र बलियो पहिचान दिलाउने अपेक्षा गरिएको छ। यो उपस्थिति नेपालको फिल्म उद्योगका लागि एउटा नयाँ अध्यायको सुरुवात साबित हुँदैछ।
@parikalanewsofficial














Discussion about this post