काठमाण्डौ/ लामो समयदेखि फिल्मको पर्दाबाट टाढा रहेका अभिनेता रमेश उप्रेती फिल्म ‘महाराजधिराज’ मार्फत अभिनयमा फर्किने भएका छन् । उनी यस फिल्ममा एक महत्वपूर्ण तथा मुख्य भूमिकामा अनुबन्धित भएका छन् । रमेशले फिल्म ‘ऐश्वर्य’ पछि पहिलोपटक कुनै नयाँ प्रोजेक्टमा काम गर्न लागेका हुन् । यद्यपि, यसबीचमा उनी केही फिल्ममा अनुबन्धित भए पनि ती प्रदर्शनमा आउन सकेनन् ।
केही म्युजिक भिडियोमा भने रमेश देखिएका थिए । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको ‘महाराजधिराज’ निर्माण घोषणासँगै चर्चामा रहेको छ । यसअघि नै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक भइसकेको छ । निर्माणपक्षले फूलपातीको विशेष अवसर पारेर यो फिल्म प्रदर्शनमा ल्याउने घोषणा गर्दै मुख्य भूमिकामा अभिनेता पल शाह रहने जानकारी दिएको थियो ।

सार्वजनिक पोस्टरमा पललाई दुई भिन्न अवतारमा प्रस्तुत गरिएको थियो, जसमध्ये एकमा उनी वस्त्रविहीन रुपमा सिंहासनमा बसेको देखाइएको थियो भने अर्कोमा राजसी पहिरनमा श्रीपेच र राजदण्डसहित राजर्षी भूमिकामा थिए । फिल्मको कथा स्वयं निर्देशक परिच्छेद सेनले लेखेका हुन् । उनको अघिल्लो निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षकहरुबाट निकै प्रशंसित भएको थियो ।
@parikalanewsofficial
‘महाराजधिराज’ का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले निर्माण गरेको फिल्म ‘बुलाकी’ ले राष्ट्रिय अवार्ड जित्न सफल भएको थियो । यस फिल्मका निर्माताहरुमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । लामो समयपछि रमेश उप्रेतीको पर्दामा पुनरागमनले उनका प्रशंसकहरु उत्साहित भएका छन् ।














Discussion about this post