इटहरी/ नायक पल शाहको नयाँ लुक्स र फरक भूमिकासँगै आउने प्रतीक्षित फिल्म ‘मोहर’ यस वर्षको साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । यो वर्ष रिलिज हुने पल शाहको पहिलो फिल्म हुनेछ ‘ मोहर’, जसप्रति उनी स्वयं पनि निकै उत्साहित छन् ।
फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको ‘मोहर’मा ओम प्रतिकको लेखन तथा निर्देशन रहेको छ भने निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा पल शाहसँगै बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल-कलाकार सारा शर्माको अभिनय रहेको छ ।

निर्माणपक्षले सार्वजनिक गरेको केही तस्बिरमा पल शाह लामो कपालमा देखिएका छन्, जसमा उनको हातमा भरुवा बन्दुक पनि देखिन्छ । यस अवतारले दर्शकलाई उनको भूमिकाप्रति चासो र कौतुहलता जगाएको छ । पलले पनि दर्शकले आफूलाई यसपटक फरक गेटअपमा हेर्न पाउने बताएका छन् ।
@parikalanewsofficial
दीपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, तथा प्रमोद ढुंगाना र हर्क साउदका शब्द फिल्ममा समावेश छन् । फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे, नृत्य निर्देशक कविराज गहतराज र रामजी लामिछाने र निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् ।

‘मोहर’को छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंका रमणीय स्थानहरूमा गरिएको छ । यद्यपि, फिल्मको कथावस्तु अहिले सार्वजनिक गरिएको छैन । निर्माणपक्षले गोप्य राखिएको कथालाई लिएर पनि दर्शकको उत्सुकता अझ बढेको छ । पल शाहको अभिनय यात्रामा नयाँ मोड ल्याउने अपेक्षासहित ‘मोहर’ले दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने प्रतीक्षा अब धेरै टाढा छैन ।














Discussion about this post