इटहरी/ भाग्य रत्न फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण भइरहेको नेपाली कथानक फिल्म ‘पहाड’ को प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षले आज नयाँ वर्षको अवसर पारेर फिल्म आगामी कात्तिक महिनाको ७ गतेबाट देशभरका फिल्म हलमा प्रदर्शनमा आउने जानकारी दिएको छ । यो मिति तिहार पर्वको भोलिपल्ट पर्दछ ।
फिल्मका लेखक तथा निर्देशक तुलसी घिमिरेले फिल्म युवा जनशक्ति विदेश पलायन हुँदा गाउँघर र पहाड खाली हुँदा उत्पन्न हुने सामाजिक तथा आर्थिक समस्याको विषयमा केन्द्रित रहेको बताए । उनले नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै फिल्मको बाँकी प्राविधिक कार्य सम्पन्न गर्न आवश्यक अवधिलाई मध्यनजर गर्दै प्रदर्शन मिति तय गरिएको जानकारी दिए ।
@parikalanewsofficial
निर्देशक घिमिरेले फिल्म पारिवारिक कथामा आधारित भएकाले सम्पूर्ण परिवारलाई हलमा गएर फिल्म हेर्न आग्रह गरे ।
फिल्मको छायांकन नेपालको सुन्दर पर्यटकीय स्थल गोरखामा ३६ दिनसम्म गरिएको छ भने बाँकी १० दिनको छायांकन भारतमा गरिने निर्माण पक्षले जनाएको छ । ओजस्वी केसीद्वारा निर्मित यस फिल्मको छायांकन प्रमोद प्रधानले गरेका हुन् ।
‘पहाड’ मा नेपाली फिल्म जगतका चर्चित कलाकारहरू विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य र पञ्चमी घिमिरे लगायतको सशक्त अभिनय रहेको छ । फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ भने भारती घिमिरे फिल्मको क्रियटिभ निर्देशकको भूमिकामा छिन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग फिल्मका सह-निर्माता हुन् । फिल्मको प्रदर्शन मिति घोषणासँगै निर्माण पक्षले प्रचार प्रसारलाई तीव्रता दिने जनाएको छ ।















Discussion about this post