इटहरी/ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सुपरहिट फिल्म ‘अञ्जिला’ चौथो सातामा देश–विदेशमा प्रदर्शन भइरहेका बेला फिल्मको नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ । हरि लम्सालको सङ्गीत र बबिना किराँतीको स्वरमा सजिएको यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् । गीत सार्वजनिक भएसँगै फिल्मका निर्देशक मिलन चाम्सले यसलाई नेपालको ‘स्पोर्ट्स एन्थम’को रूपमा स्थापित गर्नुपर्ने धारणा राखेका छन् ।
“यो गीत खेलकुदको आत्मा हो,” उनले भने, “स्टेडियमभित्र जब खेल सुरु हुन्छ, तब यो गीत गुञ्जिनु पर्छ । यसमा राष्ट्र छ, खेलाडी छन्, ऊर्जा छ । एन्फाले यो गीतलाई अगाडि बढाउनुपर्छ ।” फागुन २९ गतेको फागु पूर्णिमाका अवसरमा प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ ले नेपालमा व्यावसायिक सफलता पाइसकेको छ । अहिले यो फिल्म नेपालीहरूको बसोबास रहेका थुप्रै देशहरूमा पनि प्रदर्शन भइरहेको छ । फिल्ममा एन्जिलाको बाल्यकालदेखि व्यावसायिक फुटबल यात्रा र संघर्षको कथा प्रस्तुत गरिएको छ ।
एन्जिलाले आफूले जीवनमा भोगेका अनुभवहरूलाई पर्दामा उतारेकी छन् भने निर्माता प्रेमकुमार श्रेष्ठले फिल्ममा अभिनय पनि गरेका छन् । श्रेष्ठलाई एन्जिला आफ्ना ‘गड फादर’को रूपमा सम्मान गर्छिन् । हालै नेपाल आएकी एन्जिला देशभरका दर्शकसँग प्रत्यक्ष संवादमा थिइन् । अब उनी पुनः आफ्नो क्लब निस एट्रोमिटौका लागि खेल्न ग्रिस फर्किएकी छन् । ‘अञ्जिला’ मा एन्जिला तुम्बापोसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, र बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।















Discussion about this post