इटहरी/ फिल्म ‘कर्मा’ यही चैत २९ गते नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन हुने तयारीमा छ । निर्देशक सौरभ चौधरीको यो एक्सन-ड्रामा फिल्ममा विपीन कार्की मुख्य भूमिकामा छन्, जहाँ उनी पहिलोपटक एक्सन अवतारमा देखिँदैछन् । फिल्ममा विपीनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल छन्, जसका लागि पनि यो पहिलो एक्सन फिल्म हो । ग्रे जोनका भूमिकामा देखिए पनि पूर्ण खलनायकका रूपमा मुकुनले पहिलोपटक अभिनय गर्दैछन् ।
विपीन र मुकुनको आमनेसामने भिडन्त दर्शकका लागि रोचक हुने विश्वास निर्देशक चौधरीले व्यक्त गरेका छन् । सार्वजनीक टिजरमा विपीनको एक्सन झल्किए पनि मुकुनको एक्सन भने ट्रेलरमा खुल्ने निर्देशकले बताएका छन् । दुवैले एक्सनका लागि कडा मिहिनेत गरेको जानकारी गराउँदै चौधरीले ‘कर्मा’ अन्य फिल्मभन्दा कथा, प्रस्तुति र मेकिङमा भिन्न रहेको बताए । फिल्ममा विपीनको अपोजिटमा उपासना सिंह ठकुरी देखिएकी छन् ।
फिल्ममा अन्य कलाकारहरूको रुपमा मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायत छन् । ‘कर्मा’ले अन्तर्राष्ट्रिय बजारमा पनि चर्चा बटुल्ने अपेक्षा गरिएको छ । यसको प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिइसकेको छ । फिल्मको कथा स्वयं निर्देशक चौधरीले लेखेका हुन् ।
यसमा भाष्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । यस्तै समीर मियाको भिएफएक्स र उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर यो फिल्ममा रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा वसन्त लम्सालको लगानी रहेको छ । निर्देशक चौधरीको अघिल्लो फिल्म ‘अगस्त्यः च्याप्टर १’ दर्शक र समीक्षकबाट राम्रै प्रशंसा पाएको थियो, जसका कारण ‘कर्मा’ पनि प्रतिक्षित बनेको छ ।















Discussion about this post