इटहरी/ एक्सन, ड्रामा र सस्पेन्स मिश्रित फिल्म ‘कर्मा’ आगामी चैत २९ गते रिलिजको तयारीमा छ । नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शन हुने यस फिल्मलाई फरक कथा, मेकिङ र न्यारेसनका कारण चर्चा चलिरहेको छ । फिल्मका प्रमुख कलाकारले ‘कर्मा’लाई हालका नियमित नेपाली फिल्मभन्दा फरक रहेको बताएका छन् । अभिनेता मुकुन भुसालका अनुसार स्टोरी र न्यारेटिभको दृष्टिकोणले यो फिल्म फरक अनुभव गरिनेछ । उनले भने, “यो अहिले आइरहेका चलचित्रभन्दा एकदमै फरक छ । निर्देशकले कथालाई अनौठो शैलीमा प्रस्तुत गर्नुभएको छ।”
फिल्मका अर्का अभिनेता विपीन कार्कीको एक्सन अवतार यस फिल्मको प्रमुख आकर्षण हुने विश्वास गरिएको छ । यस्तै मुकुन भुसालका अनुसार विपीन कार्कीले आफूलाई एक्सन भूमिकाका लागि राम्रोसँग तयार गरेका थिए । “निर्माताले जति विश्वास गर्नुभयो, उहाँले त्यो मेहनतमा उतार्नुभयो । टिजरमा उहाँको प्रस्तुति दर्शकले मन पराइसकेका छन्,” उनले भने।
कलाकार दिव्यदेबले पनि विपीनको मेहनतको खुलेर प्रशंसा गरे। “उहाँले हरेक क्यारेक्टरलाई नयाँपनका साथ प्रस्तुत गर्नुहुन्छ । दर्शकलाई थाहा छ-जुनसुकै भूमिकामा उहाँ उत्कृष्ट हुनुहुन्छ । ‘कर्मा’मा पनि उहाँले आफूलाई प्रमाणित गरिसक्नुभएको छ,” उनले बताए । यसैगरी, अभिनेत्री सरिता गिरीले आफूले फिल्ममा निभाएको भूमिकालाई निकै विशेष मानिन् । उनले भनिन्, “यसमा मेरो आमाको भूमिका मात्रै छैन, यो क्यारेक्टरलाई निर्देशकले फरक तरिकाले प्रस्तुत गर्नुभएको छ । यसले परम्परागत आमाको छवि तोड्नेछ।”
फिल्मकी अर्की अभिनेत्री उपासना सिंह ठकुरीले ‘कर्मा’ प्रतिको आफ्नो विश्वास व्यक्त गर्दै भनिन्, “म एक्सन भूमिकामा छैन, तर फिल्मका लागि विपीन कार्कीको एक्सन देख्न दर्शक उत्साहित छन् । म पनि एक्सन फिल्ममा काम गर्ने अवसरको प्रतीक्षा गरिरहेकी छु ।” फिल्मका निर्देशक सौरभ चौधरीले ‘कर्मा’को आधारभूत विचार कर्मको फल भन्ने नै रहेको बताए । “गलत कर्मको परिणाम कुनै न कुनै रूपमा आउँछ । यही विचारलाई लिएर मैले फिल्म बनाएको हुँ,” उनले भने ।
‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ ।फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । संगीत भाष्कर स्वाँरले दिएका छन् भने द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । यस फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ । निर्देशक चौधरीको अघिल्लो चलचित्र ‘अगस्त्यः च्याप्टर १’ दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो, जसका कारण ‘कर्मा’प्रति पनि उत्साह बढेको छ ।















Discussion about this post