इटहरी/ नेपाली फिल्म ‘अञ्जिला’ले प्रदर्शनको पहिलो तीन दिनमै उल्लेखनीय व्यापार गरेको छ । बिहीबारदेखि शनिबारसम्म यो फिल्मले ३ दिनको अवधिमा २ करोड ७ लाख रुपैयाँ कमाएको छ । आइतबार निर्माताले सार्वजनिक गरेको कलेक्सन रिपोर्टअनुसार, फिल्मले पहिलो दिनदेखि नै दर्शकको राम्रो साथ पाइरहेको छ । फागु पूर्णिमाको कारण बिहीबार दिउँसोबाट मात्र शो सुरू भए पनि हलहरू हाउसफुल रहे ।
शुक्रबार पनि उत्साहजनक व्यापार गरेको फिल्मले शनिबार देशभरका अधिकांश हलमा हाउसफुल शोको सफलता हासिल गर्यो । दर्शकको माग अनुसार नयाँ शोहरू थपिएको भए पनि ती समेत तुरुन्तै हाउसफुल भएको निर्देशकले बताएका छन् । आइतबार बिहान केही शोमा दर्शक कम भए पनि दिउँसो र बेलुकाका शोहरू भरिभराउ रहेका वितरक करण श्रेष्ठले जानकारी दिए ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यो फिल्ममा, उनी आफैं मुख्य भूमिकामा देखिएकी छन् । फिल्ममा उनको बाल्यकालदेखि फुटबल खेलाडीको रूपमा संघर्ष र सफलताको प्रेरणादायी कथा प्रस्तुत गरिएको छ । प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ ।
फिल्मको साथसाथै यसमा समावेश गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको यस गीतले दर्शकलाई भावुक बनाइरहेको छ । टिकटक, फेसबुक, युट्युबमा यो गीतमा आधारित विभिन्न भिडियोहरू बनेका छन् । प्रभा बर्तौलाको शब्द र थानेश्वर गौतमकै सङ्गीत रहेको यो गीत अहिले दर्शकमाझ चर्चाको विषय बनेको छ । फिल्मको राम्रो व्यापार, दर्शकको सकारात्मक प्रतिक्रिया र गीतको लोकप्रियताले ‘अञ्जिला’ अझै केही हप्ता हलमा मजबुत रूपमा टिक्ने संकेत देखाएको छ ।















Discussion about this post