इटहरी/ लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन ६ को अडिसन कोशी प्रदेशको इटहरीबाट सुरू हुने भएको छ । यस पटक कार्यक्रमलाई थप भव्य र व्यवस्थित बनाउने तयारी गरिएको आयोजकले जनाएको छ । अडिसन इटहरीको कस्तुरी कलेजमा चैत्र ८ गते बिहीबार बिहानैदेखि सञ्चालन हुने बताईएको छ । त्यसपछि चैत्र १२ गते पोखरा र चैत्र १६ गते नेपालगञ्जमा अडिसन हुनेछ ।
काठमाडौं अडिसनको मिति भने अझै टुंगो लाग्न बाँकी भए पनि चैत्र महिनाभित्रै सम्पन्न गरिने प्रोडक्सन टिमले जानकारी दिएको छ । यस पटक कार्यक्रमको निर्देशन एलीन श्रेष्ठ र सुरेश पाैडेलले संयुक्त रुपमा सम्हाल्नेछन् भने अघिल्लो दुई सिजन निर्देशन गरेका पौडेल प्रोजेक्ट हेडको रूपमा समेत रहनेछन् । होस्टका रूपमा आशिफ शाह एक्लैले शो सञ्चालन गर्नेछन् ।

जजको रूपमा भने अघिल्लो सिजनझैँ न्य्हू बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी यथावत रहनेछन् । सिजन ६ लाई थप विशेष बनाउन ब्याकअप ब्यान्डको व्यवस्था गरिएको छ, जसले प्रतियोगीहरूको प्रस्तुतिलाई अझ सशक्त बनाउन मद्दत गर्नेछ । साथै, यस पटक नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिनेछन्, जसले पर्दा पछाडिका रोचक पक्षहरू दर्शकसमक्ष ल्याउनेछ ।















Discussion about this post