इटहरी/ एक्सन, सस्पेन्स र भावनात्मक तडकभडक समेटिएको फिल्म ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । दमदार संवाद, स्टन्ट र फाइट सिनले भरिएको यो टिजरले दर्शकमा उत्सुकता बढाएको छ । टिजरको सुरुआत विपीन कार्कीले कठोर एक्सरसाइज गरिरहेको दृश्यबाट हुन्छ । कान फुट्ने गरी हानेपछि बलियो बन्न उनले रोजेको बाटो कडा प्रशिक्षण हो । त्यसपछि उनी एक्सन मोडमा प्रवेश गर्छन् र भन्छन्, “जे जान्छ, त्यो घुमेर आउँछ।”
फिल्ममा विपीनको फुल एक्सन अवतार प्रस्तुत गरिएको छ । “कर्माको खेले हो यो सबै, …न कोही जोगियो न कोही जोगिन्छ” जस्ता संवादहरूले कथाको गहिराइ झल्काउँछन् । बाइक स्टन्ट, फाइट सिन र दमदार एक्सन सिक्वेन्सले फिल्मलाई थप रोचक बनाएको छ । टिजरमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत लगायतका कलाकारहरू देख्न सकिन्छ । हेर्नुस् टिजर ।
विपीन र उपासनाको यो पहिलो सहकार्य हो । साथै, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्माको समेत अभिनय रहेको छ । ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेका सौरभ चौधरीले यो फिल्म निर्देशन गरेका हुन् । चैत २९ गते नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुने तयारी गरिएको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले लिएको छ । पोस्टर सार्वजनिक भएसँगै ओभरसिज बजारमा फिल्मप्रति उत्सुकता देखिएको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा भाष्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । साथै, समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ । वसन्त लम्सालको लगानीमा बनेको ‘कर्मा’ आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति हो । निर्देशक चौधरीको अघिल्लो फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । अब ‘कर्मा’ले नेपाली एक्सन फिल्मलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।















Discussion about this post