इटहरी/ रियल पात्रको कथाबाट प्रेरित फिल्म ‘हन्टर’मा अभिनेता अरुण क्षेत्री एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । उनको जन्मदिनको अवसर पारेर निर्माण टिमले उनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ, जसले फिल्मको जनरा स्पष्ट पार्छ । पोस्टरमा अरुण चिउँडोमा हात राखेर गम्भीर मुद्रामा देखिन्छन्, अनुहारभरि रगत छरिएको छ ।
यो लुक्सले उनी फिल्ममा चुनौतीपूर्ण भूमिकामा रहने संकेत गर्छ । सुदूरपश्चिमको कथा बोकेको यो एक्सन जनराको फिल्म जीवन सिंहको निर्देशनमा निर्माण हुँदैछ । डेब्यु निर्देशक सिंहले फिल्म वास्तविक घटनाबाट प्रभावित भएपनि सिनेम्याटिक लिबर्टी लिइने बताएका छन् । उनका अनुसार, “रियल पात्रको कथामा फिक्सन मिसाइनेछ, जसले फिल्मलाई अझ रोचक बनाउनेछ।”

क्याच कक इन्टरटेनमेन्ट प्रा.लि. को प्रस्तुतिमा निर्माण हुने फिल्ममा ममता सिंह र राज ए भट्ट निर्माता रहेका छन् भने मनीष चन्द र गोविन्द राज सह-निर्माता छन् । कार्यकारी निर्माता रोयल भिमसेन हुन् । फिल्ममा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । हाल प्रि-प्रोडक्सनमा रहेको ‘हन्टर’को छायांकन पश्चिम नेपालमा गरिनेछ । दर्शकलाई रोमाञ्चित बनाउने उद्देश्यले यो फिल्मलाई एक्सन इन्टरटेनरको रूपमा निर्माण गरिँदै छ ।














Discussion about this post