इटहरी/ २०८२ सालमा रिलिज हुने तयारीमा रहेको फिल्म ‘जनै हराएको बाहुन’को एक कारुणिक संवाद सार्वजनिक भएको छ । गाउँका युवा सहर पस्न बाध्य हुने यथार्थतालाई बोकेको यस संवादले नेपाली समाजको एउटा गहिरो पक्ष उजागर गर्छ । फिल्ममा देखाइने उक्त संवाद गाउँका दुई साथीसँग सम्बन्धित छ, जहाँ एकजना आफ्नो सपना पूरा गर्न सहर जान लाग्छ । बिदाइको क्षणमा भनिएको संवादमा उसले आमाको अनुहारसमेत हेर्न नसकेको मार्मिक दृश्य प्रस्तुत गरिएको छ ।
यसले हजारौं नेपाली युवा कसरी आफ्नो सपना पछ्याउने क्रममा मन बाँधेर घर छोड्न बाध्य छन् भन्ने प्रष्ट पार्छ । निर्देशक हिमाल न्यौपानेको डेब्यु निर्देशन रहेको ‘जनै हराएको बाहुन’मा विजय बराल मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । साथै, मनिष राउत असोसियट निर्देशकका रूपमा रहनुका साथै अभिनयमा पनि देखिनेछन् । फिल्मको कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका छन् ।
निर्माण टिमले सार्वजनिक संवादसँगै एउटा विशेष अफरको घोषणा समेत गरेको छ । यस संवादलाई समावेश गरी बनेको गीत गाएर टिकटकमा पोस्ट गर्ने प्रतिस्पर्धीमध्ये उत्कृष्ट स्वरलाई फिल्मकै गीत गाउने अवसर निर्माण टिमले दिनेछ । यस गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ । फिल्मलाई पेपरक्लिप प्रालिले निर्माण गर्दैछ । निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् ।
फिल्मको छायांकन नवीन गुरुङ ले गर्नेछन् भने सम्राट महर्जन (ज्याक) क्रिएटिभ निर्देशकको रूपमा रहनेछन् । भिएफएक्स सुपरभाइजर मयंक निरौला छन् । गाउँबाट सहर पस्ने क्रममा एक साधारण व्यक्तिले भोग्ने कठिनाइ र त्यसले उसको जीवनमा ल्याउने परिवर्तनलाई प्रस्तुत गर्न खोजिएको यो फिल्म चैतबाट छायांकनमा जाने तयारीमा छ । अन्य कलाकार तथा प्राविधिक टिमको जानकारी छिट्टै सार्वजनिक गरिनेछ ।















Discussion about this post