इटहरी/ पूर्व मन्त्री रामकुमारी झाँक्रीले फिल्म ‘एक्टर: टेक वन’ हेरेपछि यसलाई रहस्यमय, रमाइलो र उत्कृष्ट भन्दै सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले फिल्मको कथा र प्रस्तुति मनमोहक रहेको बताउँदै यसले दर्शकलाई भरपुर मनोरञ्जन दिने उल्लेख गरिन् । झाँक्रीले फिल्मका मुख्य कलाकार प्रदीप खड्का, नव-अभिनेत्री दिव्या रायमाझी, पुनः अभिनयमा फर्किएका राजबल्लभ कोइराला लगायत सम्पूर्ण टिमलाई बधाई दिइन् ।
उनले भनिन्, “सायदै मैले यति राम्रो फिल्म यसअघि हेरेकी थिइनँ । नेपाली फिल्मको प्रवर्द्धन गर्ने व्यक्ति भएको नाताले प्रदीप खड्का र हाम्रो भदैनी दिव्यालाई धेरै बधाई छ ।” फिल्मले रिलिजअघि विवाद सामना गर्नुपरेको विषयमा बोल्दै उनले भनिन्, “विवाद नहुनुपर्ने थियो, तर भयो । अब फिल्म उठिसकेको छ, अझ दौडिनेछ । दर्शकले यसको सफलताका लागि साथ दिनुपर्छ ।” साथै, उनले सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्ने बताउँदै भनिन्, “फिल्म सेन्सर पास हुनु अगाडि नै सबै विवाद समाधान हुनुपर्छ ।”
उनी थप भन्छिन् “नाम हुबहु मिलेको छैन, अदालत पनि प्रो-एक्टिभ छ, त्यसैले अनावश्यक विवाद सिर्जना गर्नु उचित होइन ।” यसैबीच, अभिनेता राजबल्लभ कोइरालाले राम्रो फिल्ममेकरको महत्त्व उल्लेख गर्दै भने, “नेपाली फिल्म उद्योगलाई मजबुत बनाउन फिल्ममेकरको सुरक्षा गर्नु आवश्यक छ।” ‘एक्टर: टेक वन’ प्रदर्शनमा आएको एक हप्तामै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको कथा आकाश बराल र राजन भुसालले लेखेका हुन् भने, यो अधृत फिल्म्स र अ मोती फिल्म्स को संयुक्त प्रस्तुति हो । फिल्मका निर्माता थमन कुमार भण्डारी, क्रिएटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।














Discussion about this post