इटहरी/ फिल्म ‘ताण्डवम्’को प्रेमिल भावनालाई समेटिएको पहिलो गीत ‘हिमानी (ए सानु)’ मंगलबार सार्वजनिक गरिएको छ । केही दिनअघि सार्वजनीक भएको फिल्मको टिजरले चर्चा पाएपश्चात् गीत सार्वजनिक गरिएको हो । गीतमा जुनिम गहतराज र सरिना मगर फिचर्ड छन् ।
इन्द्रकला राईको सुमधुर स्वरमा सजिएको गीतको शब्द तथा संगीत सुशान्त गौतमले तयार पारेका हुन् । पछिल्लो समय ‘भ्वाइस अफ नेपाल सिजन ६’ मा सहभागी भएपछि चर्चामा रहेकी राईले यसअघि गाएको ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ तथा ‘बार्दली’ लोकप्रिय भएका थिए । त्यसैले ‘ताण्डवम्’ को गीतले पनि राम्रो प्रतिक्रिया पाउने निर्माण टिमको अपेक्षा छ । हेर्नुस् गीत ।
जुनिम गहतराजको निर्देशनमा बनेको यो एक्सन-थ्रिलर फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ । नवविवाहित जोडीले पहिलो सन्तानको स्वागत गर्ने तयारी गर्दै गर्दा उनीहरूको जीवनमा आउने उतारचढावलाई फिल्मले प्रस्तुत गर्नेछ ।
सिंहदेवी प्रोडक्सन र भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाको छायांकन, सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत तथा कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक रहेको फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले तयार पारेका छन् ।












Discussion about this post