इटहरी/ आउँदो दशैँलाई लक्षित गर्दै असोज १७ गते फुलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने तयारी रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को प्रचारप्रसारलाई व्यापक बनाउने हेतुले फिल्म युनिटले कभर भिडियो प्रतियोगिता सार्वजनिक गरेको छ । यो फिल्मको चर्चित गीत ‘छड्के सलाम’ को कभर भिडियो प्रतियोगिताका लागि निर्माण पक्षले विशेष योजना अघि सारेको हो । यो प्रतियोगितामा उत्कृष्ट नृत्य गरेर निर्माण गरिएको कभर भिडियोलाई ‘बेहुली फ्रम मेघौली’ फिल्ममा समावेश गरिने घोषणा गरिएको छ ।
‘छड्के सलाम’ गीतको कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप फर्म्याटमा एचडी क्वालिटीमा कभर भिडियो बनाउनुपर्ने छ । जसलाई निर्माण पक्षको इमेलमा पठाउनु पर्नेछ । साथै आफ्नै सामाजिक संजालमा पनि हाल्न सकिन्छ । तर, फिल्म युनिटलाई पठाउदा भने एचडी क्वालिटीमै पठाउनुपर्ने छ, अन्यथा सो कभर भिडियो प्रतियोगितामा समावेश नहुने जानकारी गराईएको छ । यस प्रतियोगितामा जुनसुकै उमेरका व्यक्तिहरूले भाग लिन सक्नेछन् । निर्माण युनिटलाई प्राप्त भिडियोहरु मध्ये उत्कृष्ट एउटा कभर भिडियोलाई ‘बेहुली फ्रम मेघौली’ फिल्ममा समावेश गरिनेछ ।
उक्त गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको उत्कृष्ट नृत्य रहेको छ, जसलाई दर्शकहरूले अत्यधिक रुचाइरहेका छन् । यो गीतमा फिल्मका अन्य कलाकारहरू पनि फिचर्ड भएका छन् । ‘बेहुली फ्रम मेघौली’को मुख्य कलाकारहरूमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको अलावा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मी लगायतको समेत अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस सिनेमाको लेखन तथा निर्देशन साजन काफ्ले र आकाश बरालले गरेका छन् । यो उनीहरूको पहिलो निर्देशकीय फिल्म हो । अभिनेत्री स्वस्तिमा खड्का यो फिल्मको निर्माता हुन्, उनलाई निर्माणमा उनका पति तथा निर्देशक निश्चल बस्नेतले सहयोग गरेका छन् । फिल्मका कार्यकारी निर्माताहरूमा फिरोज खड्का र शंकर पाण्डे रहेका छन् । यस फिल्ममा अभिनेता विजय बराल कास्टिङ डाइरेक्टरको भूमिकामा रहेका छन् भने छायांकन नरेन्द्र मैनालीले गरेका हुन् । यस्तै कोरियोग्राफी प्रदीप लामा र केवीका खत्री, संगीत जयन जे वाइवा र कुशल पोखरेलले गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।
Discussion about this post