इटहरी/ मङ्गलवार बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । दशैँको फुलपातीलाई लक्षित गर्दै निर्माण युनिटले असोज २४ गते रिलिज डेट लक गरेको हो । यो मितिमा ‘छक्का पन्जा-५’ र ‘ज्वाईं साब’ पनि रिलिज हुँदैछ । ‘१२ गाउँ’ बिराज भट्टको निर्देशनमा बनेको फिल्म हो, जसले नेपाली एक्सन फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको छ ।
बिराजका छोरा समीर भट्टको मुख्य भूमिका रहेको यस फिल्मले नेपाली फिल्म उद्योगमा समीरसहित अन्य नयाँ अनुहारहरूलाई पनि प्रस्तुत गर्दैछ । यसबाट न्यान्सी खड्का र सनिशा भट्टराईले पनि डेब्यू गर्दैछन् ।समीरले विगत १० वर्षदेखि भारतमा विभिन्न विधाहरूमा प्रशिक्षण लिँदै आएका छन्, जसले उनलाई एक्सन भूमिकामा विशेष आकर्षक बनाएको छ ।
टिजरको लागि तयार पोस्टरमा रिलिज मिति सार्वजनिक गर्दै बिराजले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाली एक्सन फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी चिनाउने भन्ने मेरो चिन्तन र यस पटक ‘१२ गाउँ’ मार्फत मैले त्यो प्रयास गरेको छु।” यस चलचित्रमा बिराजको कथा, सन्तोष सरकारको पटकथा र संवाद लेखन रहेको छ ।
Discussion about this post