इटहरी/ दशौँ दिनमा चलिरहेको नेपाली चलचित्र ‘पुजार सार्की’का अभिनेता पल शाहलाई नेपालगन्जमा दर्शकद्वारा भव्य स्वागत भएको छ । यहाँका हलहरू सिनेरोयल र क्यूएफएक्स सिनेमामा उनी आउने जानकारी पाएका दर्शकले घण्टौँ अगाडीदेखि पर्खेर बसेका थिए, जब पलको प्रवेश हल परिसरमा भयो तब दर्शकको उत्साह थपियो । नेपालगन्जको प्रचण्ड गर्मीको समेत प्रवाह नगरी हल बाहिरै दर्शकले घेरा हालेका थिए . नेपालगन्जका हलहरूमा हाउसफुल दर्शकहरू रहेपछि पल दिनभर नेपालगन्जमा नै रहने भएका छन् । उनले आफूले सबै दर्शकलाई भेटेरै मात्र यहाँबाट फर्किने बताए ।
उनले सिनेरोयलमा रहेको राती ९.१५ बजेको अन्तिम शो का दर्शकलाई समेत भेट्ने बताए । आज सिनेरोयलमा प्राप्त आठ वटा शोमा मध्यान्हसम्मका सबै शो हाउसफुल भएका छन् । मध्यान्हपछिका शोहरू पनि लगभग सबै टिकट बिक्री भइसकेको हल श्रोतले बताएको छ ।
पलसँगै चलचित्रका निर्देशक दिनेश राउत पनि नेपालगन्ज पुगेका छन् । सफलताका साथ चलिरहेको आफ्नो चलचित्र हेर्न आएका सयौँ दर्शकमाझ पुग्दा पाएको सुखद प्रतिक्रियाबाट राउत निकै खुसी देखिए । हाउसफुल दर्शकमाझ उभिएका राउतले आफ्नो चलचित्रको व्यावसायिक सफलता दिलाउने दर्शकलाई धन्यवाद व्यक्त गरे । दर्शकले चलचित्र राम्रो रहेको प्रतिक्रिया पाइरहेको उनले बताए ।
सिनेरोयलमा आयोजित पत्रकार भेटघाटमा अभिनेता शाहले सकेसम्म नेपाल र विदेशमा रहेका सबै दर्शकमाझ पुग्ने आफ्नो चाहना रहेको बताए । “देश विदेशका दर्शकहरूबाट हामीलाई निम्तो आइरहेको छ । म भर्खरै जापान पनि पुगेर आएँ । अहिले हामी पश्चिम नेपालका दर्शक भेटिरहेका छौँ । बिस्तारै हामी अन्य स्थानहरूमा पनि पुग्नेछौँ,” शाहले भने । गत बुधवार आदर्शनगरस्थित सिनेरोयल हलमा नेपाली चलचित्रको रेकर्ड नै ब्रेक भएको हलका सिओओ रितेश श्रेष्ठले बताए ।
दश महिना अघि सञ्चालनमा आएको यो हल सञ्चालन भएदेखि गत बुधवार ‘पुजार सार्की’ले प्राप्त गरेको छ वटा शो मा सबै टिकट बिक्री भई ऐतिहासिक रेकर्ड राखेको श्रेष्ठले बताए । “हिन्दी चलचित्र बढी हेरिने क्षेत्रमा खुलेको यो हलमा नेपाली चलचित्रको लागि यो भन्दा बढी खुसीको कुरा अरू के होला र ? ‘पुजार सार्की’ले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाली चलचित्रको विकासले हामी हल सञ्चालकलाई खुसी दिलाएको छ,” श्रेष्ठले बताए । अभिनेता शाह, निर्देशक राउतसहितको ‘पुजार सार्की’ टिम भोली आइतबार दाङको भिएफएक्स सिनेमा हल पुग्नेछ भने सोमबार धनगढीस्थित एसटिएस सिनेमा हलमा पुग्ने तालिका रहेको छ ।
Discussion about this post