इटहरी/ कोशी प्रदेशको इटहरी र बिराटनगर लगायतका ठाउहरुमा छायांकनको तयारीमा रहेको फिल्म ‘बलिदान’ निर्माण युनिटले फिल्मका लागी प्रमुख २ पात्रका लागी अडिसन आव्हान गरेको छ । परिवेश सुहाउँदो १ नारी र १ पुरुष प्रमुख पात्रको लागी अडिसन आव्हान गरेको हो । ‘बलिदान’ को प्रमुख पात्र बन्न चाहने कलाकार कोशी प्रदेशको इटहरी, विराटनगर र मधेस प्रदेशको जनकपुर क्षेत्र हुनु पर्ने जनाईएको छ ।
इच्छुक महिला कलाकार २१ देखि ३२ वर्ष उमेर समुहको मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी, साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएकी तथा एक्सन प्रधान भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी भएको फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए । उनका अनुसार पुरुष पात्रको लागि भने अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहको हुनुपर्ने छ । अडिसनमा सहभागी हुन इच्छुक कलाकारले २०८१ वैशाख मसान्तसम्म आसुसेन फिल्मसको आधिकारिक इमेल ठेगाना [email protected] मा र ह्वाट्सएप मेसेन्जर नम्बर 9811840082 मा सन्देश मार्फत सम्पर्क गर्न सकिने छ ।
फिल्म निर्माण युनिटले शनिवार आउटडोर सेट तयार गरिने स्थान बिराटनगरमा भूमि पुजा गरिएको छ । त्यहाँ ४० फुटको कालिमाताको मुर्ती बनाईदैछ । जुन कार्य सुरु भैसकेको सेनले जानकारी गराए । यस्तै बलिदानको छायाङ्कन करिब ६० प्रतिशत इटहरीमा अवस्थित बिएमसि स्टुडियोमा नै छायाङ्कन हुँदैछ ।
‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन् । यस चलचित्रमा यसअघि अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् । सबै स्टार कलाकारहरूको अभिनय रहने यस चलचित्रलाई लिएर ठुलो अपेक्षा गरिएको छ । सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ । आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।
Discussion about this post