इटहरी/ फिल्म ‘बलिदान’ का लागी प्रमुख अभिनेताको रुपमा दिव्य देव अनुबन्ध भएका छन् । फिल्म छायांकनको लागी लोकेसन हन्टिङको अन्तिम चरणमा पुगेको फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन यतिबेला कोशी प्रदेशको इटहरी आइपुगेका छन् । उनका अनुसार अभिनेता दिव्य देवसंग यो फिल्म खेल्नका लागी गतवर्ष नै प्रस्ताव गरिएको थियो । बलिदानको प्री-टिजरमा आवाज दिएका दिव्यलाई फिल्ममा अनुबन्ध गर्न पाँउदा सेनले खुशी रहेको जनाए ।
प्रस्ताव पहिले नै गरिएपनी दिव्य देवसंग औपचारिक कुराकानी गर्न नपाएको बताउदै सेनले उनी बलिदानको लागी प्रमुख पात्रको लागी सुहाउँदो अभिनेता रहेकाले अनुबन्ध गरिएको बताए । यो फिल्म ‘बलिदान’को ८५ प्रतिशत छायांकन कोशी प्रदेशको इटहरी, विराटनगर लगायतका ठाउँहरुमा गरिने पक्का भएको छ । अहिले विराटनगरको खुल्ला जग्गामा र इटहरीको बिएमसी स्टुडियोमा सेट डिजाईनको कार्य सुरु भैसकेको निर्माता तथा निर्देशक सेनले जानकारी गराए ।
‘लुक ब्याक इन एङ्गर’, ‘अन्ना इन द ट्रपिक्स’, ‘मिड समर नाइट्स ड्रिम’ लगायतका करिब दुई दर्जन अङ्ग्रेजी नाटकहरूमा अभिनय गरिसकेका दिव्यको पछिल्लो अभिनय रहेको फिल्म ‘महाजात्रा’ हो । यो संगै उनले ‘चिसो एस्ट्रे’, ‘हिजो आजका कुरा’, ‘दि सिक्रेट्स अफ राधा’मा अभिनय गरेका छन् भने हालै ‘मेयर’ फिल्मको छायांकन सकेका छन् । उनको अभिनय रहेको ‘एउटा सपनाको अवसान’ र ‘ट्रान्जिट’ नामक नाटक निकै चर्चित छ ।
आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो मेगा प्रोजेक्टको रुपमा लिएका छन् । यसअघि यो फिल्ममा समीर भट्ट र ऋचा शर्मा प्रमुख भुमिकामा अनुबन्ध भैसकेका छन् । समिरले यहि फिल्मबाट नेपाली फिल्म उधोगमा डेब्यु गर्दैछन् । यहि वर्षको दशैँलाई प्रदर्शन मिति तय गरेको ‘बलिदान’ फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिष्ट पनि निर्माताको रुपमा रहेका छन् भने सह-निर्मातामा प्रेम पुरी रहेका छन् ।
Discussion about this post