इटहरी / चैत्र ९ गतेबाट रिलिज भएको प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र `जात्रा´को तेस्रो सिक्वेल ‘महाजात्रा’लाई नेपालकै सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले सुपर हिट चलचित्रको ट्याग दिएको छ। बक्स अफिसमा उच्च अङ्क जोडेको यो चलचित्रलाई क्यूएफएक्सले आफ्नो वेबसाइटमा नै ‘सुपर हिट’ लेखेको छ ।
रिलिजको पहिलो तीन दिनमा ४ करोडमाथि ग्रस कलेक्सन गरेको यो चलचित्रलाई सो मल्टीप्लेक्सले आफ्ना देशभरका हलहरूमा उच्च शो दिएको छ । क्यूएफएक्स चेनमा महाजात्राले गरेको कलेक्सनको आधारमा यो घोषणा गरिएको हुनसक्छ । नेपाली तथा विदेशी चलचित्रको लागि क्यूएफएक्स सिनेमाज व्यापारको उत्कृष्ट चलचित्र हल चेन हो ।
शुक्रबारबाट रिलिज भएको यस ‘महाजात्रा’ले पहिलो दिनमै १ करोड २३ लाखको बम्पर ओपनिङ गरेको थियो । विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ । आकस्मिकरूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो ।
चलचित्रमा हरिवंश आचार्य, बिपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रबिन्द्र झा, दिब्य देबलगायतका कलाकारको अभिनय रहेको छ । कार्यकारी निर्माता रवीन्द्रसिंह हुन्।
चलचित्रका निर्माताहरु म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल हुन् भने चलचित्रको कथा निर्देशक भट्टराईले स्वयं लेखेका हुन् ।
Discussion about this post