इटहरी। चैत्र ९ गतेबाट नेपालसहित अन्य देशमा प्रदर्शनमा आउने फिल्म ‘जात्रा’ सिरिजको यो तेस्रो ‘महाजात्रा’ ४० मुलुकमा रिलिज हुने तय भएको छ । एमएसएम इन्टरटेनमेन्टले यो फिल्मलाई एसिया, उत्तर अमेरिका, युरोप, मध्यपूर्व, संयुक्त अधिराज्य र ओसियाना क्षेत्रमा प्रदर्शन गर्न लागेको बताएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले सबै मुलुकमा एक साताभित्र प्रदर्शन हुन लागेको जनाएको छ । नेपालमा भने शुक्रबार रिलिज हुनेछ । ‘महाजात्रा’लाई मंगलबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ । सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित प्रिमियरमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मीको सहभागिता रहेको थियो भने सबैले राम्रो प्रतिक्रिया दिएका छन् । नेपाल लगायत धेरै देशहरुमा टिकट बूकिंग खुलेसंगै केहि देशमा सोल्ड आउट समेत भैसकेको छ ।
आगामी साता यो फिल्म अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, मलेसिया, जापान, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड र हङकङमा रिलिज हुनेछ । संयुक्त अधिराज्यमा इङ्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा पनि फिल्म लाग्नेछ । युरोपमा डेनमार्क, पोर्चुगल, माल्टा, आयरल्याण्ड, स्पेन, नर्वे, क्रोएसिया, बेल्जियम, लक्जेम्बर्ग, साइप्रस, पोल्याण्ड, जर्मनी, स्वीडेन, फिनल्याण्ड, रोमानिया, चेक रिपब्लिक, नेदरल्याण्ड्स, अष्ट्रिया र फ्रान्समा पनि रिलिज तय छ ।
मध्यपूर्वमा यूएई, कतार, इराक, साउदी अरब, बहराइन, ओमान र कुवेतमा पनि फिल्म रिलिज हुने जनाइएको छ । ‘जात्रा’ सिरिजको यो तेस्रो श्रृंखलामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउतको शीर्ष भूमिका छ ।
Discussion about this post