इटहरी / चलचित्र विकास बोर्डको आयोजनामा भएको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट चलचित्रको घोषणा नगरिएकोमा अघिल्ला वर्षहरूमा दिँदै आएको पुरस्कार यस वर्ष किन दिइएन भनी जुम्ला जिल्लाका स्थानीय व्यक्ति मीनराज आचार्य, चलचित्र ‘प्रकाश’को लेखक विकास सुवेदी र निर्देशक दिनेश राउतले चलचित्र विकास बोर्डमा पत्र दर्ता गरी सोधेका थिए ।
बोर्डबाट जवाफ नपाएपछि गत असोज ५ गते उच्च अदालत पाटनमा उनीहरूले रिट निवेदन हालेका थिए । उच्च अदालत पाटनले प्रदीप खड्का र दिया मास्के स्टारर नेपाली चलचित्र ‘प्रकाश’को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउन आदेश दिएको छ । वि.सं. २०७९ भदौ ५ गते सेन्सर पास भएर चलचित्र भदौ १० गते रिलिज भएको थियो ।
राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्रको पुरस्कार प्रदान नगरिएकोबारे परेको रिट निवेदनको सुनुवाइका क्रममा बुधवार न्यायाधीश द्वय धीरबहादुर चन्द र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । बुधवार पक्ष र विपक्षका वकिलहरूको बहसपछि सो चलचित्र प्रदर्शनका लागि स्वीकृति दिए नदिएकोबारे केन्द्रीय चलचित्र जाँच समितिबाट बुझ्न र दिएको भए प्रमाणित प्रतिलिपि पेस गर्न आदेश भएको हो ।
Discussion about this post