इटहरी/ कलाकार तथा निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’ नाममा फिल्म निर्माण गर्ने भएका छन् । उनले सामाजिक संजाल फेसबुकमा नेपाली र अङ्ग्रेजी २ टाईटल पोस्टर सार्वजनिक गर्दै यो जानकारी गराएका हुन् । उनले फेसबुकमा सो पोस्टर सहित ‘वास्तविक जिवनसँग मेल खाएमा संयोग मात्र हुने छैन’ लेख्दै ‘पिपुल भर्सेस पावर’ भनेका छन् । फिल्ममा उनकी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्कासहित खगेन्द्र लामिछाने, दयाहाङ्ग राई, अर्पण थापा र बिजय बरालको प्रमुख भूमिकामा रहने बताईएको छ ।
बस्नेतले यहि सालको तिहारमा अर्थात कार्तिक २४ गते प्रदर्शन गर्ने तयारी सहित ‘दिमाग खराब’को काम अगाडि बढाएका छन् । उनको निर्देशन रहेको ‘लुट’ पछि यहि फिल्म नै हुनेछ । यो बिचमा उनले निर्देशनलाई थाती राखेर अभिनयमा समय दिइरहेका थिए । २०७४ सालमा लुट निर्देशन पछि बस्नेतले ५ वर्षको अन्तरालमा ‘दिमाग खराब’ निर्देशन गर्ने भएका हुन् ।
दिमाग खराबलाई सुसन प्रजापतिले छायांकन गर्नेछन् भने फिल्मको पटकथा आकाश बरालले तयार गरेका हुन् । यस्तै संगीतकार जयन जे वाइवा र कालि प्रसाद बास्कोटा, सम्पादन निमेश श्रेष्ठ, कलरिस्ट राजेन्द्र मोक्तान, मुख्य सहायक निर्देशक फिरोज खड्का, वितरक गोविन्द शाही र मनोज राठी, प्रोडक्सन डिजाईनर आशिका शर्मा, भेष-भुषा सुजन परियार रहेका छन् । दिमाग खराबको कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् भने रौनक बिक्रम कडेल निर्माता हुन् ।
Discussion about this post