इटहरी/ बड्डी इन्टरटेनमेन्ट र अक्स इन्टरनेशनल स्टुडियोको प्रस्तुतीमा निर्माण हुने सिरिज कैँचीको आज शुक्रवार अर्थात २० गतेबाट छायांकन सुरु भएको छ । यसअघि निर्माण युनिटले पौष १३ गतेबाट छायांकन गर्ने तयारी गरेको थियो । तर, पुर्ण तयारिमा समय अभाव भएका कारण एकहप्ता ढिला गरि छायांकन सुरु भएको हो । सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा यो वेब सिरिजको शुभमुहूर्त यसअघि नै गरिसकिएको छ । ‘कैंची’ निर्माण युनिटले दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै यो सिरिजको निर्माण घोषणा गरेको थियो ।
टिजरमा फिचर्ड भएकि मोडल तथा अभिनेत्री काजल कर्ण भने सोही टिजरमा मात्रै सिमित भइन् । अर्थात सिरिजमा समावेश केही दृश्यहरु गर्न तयार नभएका कारण टिमसंग असहमती जनाउदै उनले सिरिज छाडेको बताईएको छ । अहिले उनको ठाउँमा थिएटर आर्टिस्ट सोबिता अधिकारीको इन्ट्री भएको छ । अधिकारीले दयाहाङ राई र उपासना सिंह ठकुरी प्रमुख भुमिकासहित रिलिजको तयारीमा रहेको फिल्म ‘हात्तिछाप’मा असिस्टेन्ट डिरेक्सन समेत गरेकी छन् । यस्तै कोशी प्रदेशबाट अभिनयमा आफुलाई अब्बल सावित गर्न लागिपरेका रियाज आचार्यले पनि यहि वेब सिरिजबाट डेब्यु गर्दैछन् ।
उनले यसअघि बन्न लागेको भुपती फिल्ममा पनि काम गर्ने तयारिमा थिए । तर, भुपती निर्माणमा ढिलाई भएपछि उनले कैँचीमा कामेश्वर चौरसियासंग सहकार्य गरेक हुन् । केही म्युजिक भिडियोमा मोडलिङ गरेका आचार्य यो सिरिजमा हिरो बन्ने सपना बोकेको एक युवाको भुमिकामा अभिनय गर्दैछन् । सिरिजमा अभिनेता कामेश्वर चौरसिया, सोबिता अधिकारी, रियाज आचार्य, पवन गौतम, घनश्याम गिरी, प्रदीप ढकाल, शुभम भुमियार, दिपक चन्द, हरिश बिक्रम कडायत र ध्रुब पाण्डेको अभिनय रहनेछ । मधेसको कथालाई उठान गरिएको ‘कैंची’मा सत्य घटनाबाट प्रभावित भएर पारिवारिक कलह र उतारचढावलाई केन्द्रमा राखेर कथा तयार गरिएको निर्माण युनिटको भनाई छ ।
कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया र पटकथा तथा संवाद कामेश्वर र नरेशनाथ योगीले लेखेका हुन् भने यो सिरिजलाई नरेशले नै निर्देशन गर्दैछन् । यस्तै गणेश प्रसाद बाघ निर्माता हुन् भने यो सिरिजको कार्यकारी निर्मातामा समीर खरेल रहेका छन् । यो सिरिजमा मित्र डि गुरुङको सम्पादन, मनिष भट्टको मुख्य सहायक निर्देशन, सुमित राज भट्टको एसोसियट निर्देशन, निहाल नरेन सिंहको कला निर्देशन र निसाल पौडेलको डिओपी रहनेछ ।
Discussion about this post